२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर

मंगलवार , श्रावण १७, २०७९

बुटवल, १७ साउन । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर स्थापना भएको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको काउण्टरको मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । 

काउण्टरको उद्घाटन गर्दै पाण्डेयले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताए । ‘बुटवलको यस आसपासको बजार क्षेत्रलाई समेत यो काउण्टरले सेवा दिन सक्नुपर्छ’–उनले भने । उनले बैंकले विपन्न परिवारलक्षित कार्यक्रम ल्याउन आग्रह गरे । 

कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्ना सेवालाई समयको मागअनुसार प्रविधिमैत्री बनाउने बताए । उनले देशभरका २ सय ५८ शाखाबाट ३६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको र अझै स्तरीय सेवा प्रवाह गर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपमहानगरको काउण्टरको सेवा स्तरीय बनाउन आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल आसपासका उद्योगी व्यवसायीलाई समेत लाभ हुने गरी सेवा प्रवाह गर्न सुझाव दिए ।

कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रबन्धक दिनेश गौतमको अध्यक्षता, उपप्रबन्धक जितेन्द्रसिंह थापाको सञ्चालन र नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीको स्वागतमा भएको थियो ।  

एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिनेछ ।