
बुधवार , श्रावण ११, २०७९
भुवन आचार्य -
भैरहवा, ११ साउन । न्यूनस्तरको खाद्यपदार्थ उत्पादन तथा विक्रीवितरण गरी उपभोक्तामाथि ठगी गर्ने ९ वटा उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उपभोक्ता अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा गरिएको अनुगमनका क्रममा ती उद्योगहरुविरुद्ध १२ वटा मुद्दा दर्ता गरिएको हो । जसमध्ये ११ वटा मुद्दा खाद्य ऐन २०२३ को दफा ३ बमोजिम जिल्ला अदालत र एउटा मुद्दा दफा ५(२) बमोजिम जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी दिए । दाहालका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर १ स्थित आशिर्वाद एग्रो एण्ड फुड्स प्रा.लि. विरुद्ध सबैभन्दा बढी चारवटा मुद्दा दर्ता भएका छन् । सो उद्योगले उत्पादन गर्ने मिट मसला, सब्जी मसला र मिक्स मसला परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी भष्म पाइएको थियो ।
आशीर्वादविरुद्व नवलपुर जिल्ला अदालतमा खाद्य ऐन २०२३ को दफा ३ बमोजिम तीनवटा तथा ज्वानोमा लेवल र अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेकाले नवलपुर जिल्ला प्रशासन कार्यालयमा खाद्य ऐन २०२३ को दफा ५(२) बमोजिम मुद्दा दर्ता गरिएको छ ।
त्यसै गरी प्रशोधित पिउने पानीमा कोलिफर्म रहेका ६ वटा पानी उद्योगलाई खाद्य ऐन २०२३ को दफा ३ बमोजिम सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख दाहालले जानकारी दिए । पिउने पानीमा कोलिफर्म नामक विषादी मिसावट गर्ने उद्योगहरुमा अभिनाश अभिषेक ड्रिंक्स प्रा.लि. सुनवल–४ नवलपरासी, एक्वा नेपाल बिश्लेरी सि.न.पा.–६, रुपन्देही, मायाँ वाटर इण्डष्ट्रिज, सि.न.पा.– २, रुपन्देही, एकता बेभरेज इण्डष्ट्रिज, सिद्धार्थनगर न.पा.–८, रुपन्देही, पि.एम. वाटर इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा.–१. रुपन्देही र झरना फुड्स प्रा.लि. तिलोत्तमा न.पा.–१६, रुपन्देही रहेका छन् । कि फुड्स इन्डष्ट्रिज प्रा.लि. काठमाण्डौले उत्पादन गरेको खाद्य पदार्थमा ओटमिल (जीवित किरा) भेटिएको र रम्भा फुड
प्रोडक्ट्स तिलोत्तमा नगरपालिका–९, रुपन्देहीे उत्पादन गरेको ससमा टिएसएस (ठोस पदार्थको बाक्लोपना) कम देखिएकोले अदालतमा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
आ.व. २०७८/०७९ मा गत आ.व.का १३ वटा, मर्ज भएका ६ वटा र अन्य कार्यालयबाट प्राप्त ८ वटा गरी २७ वटा मुद्दा अनुसन्धानमा रहेका थिए । जसमध्ये १२ वटालाई मुद्दा दायर, ४ वटालाई अनुसन्धान सम्पन्न गरी अन्य कार्यालयमा पठाइएको र ११ वटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन् ।
त्यस्तै भन्सार विन्दुवाट विषादी अवशेष परीक्षणका लागि प्राप्त फलफुल तथा तरकारीका नमूनामध्ये २९ हजार ४० वटा आरविपिआर विधिबाट विषादी अवशेष परीक्षण गर्दा ३३ वटा नमूनामा विषादीको मात्रा भेटिएपछि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको दाहालले बताए ।
कार्यालयले आ.व. २०७८/७९ मा १ हजार ७ सय ९४ वटा (विषादीको बाहेक) खाद्य नमूना विश्लेषण, १ सय ८ वटा दाना नमूना विश्लेषण, ६३ वटा प्रतिकूल नमूना विश्लेषण गरेको थियो ।
त्यस्तै उद्योग अनुगमनतर्फ दाना उद्योग अनुगमन १२ पटक, होटल रेष्टुरेण्ट अनुगमन ५२ पटक र खाद्य उद्योग अनुगमन १५५ पटक गरेको छ । बजार अनुगमनतर्फ नियमित बजार अनुगमन ५२ पटक, उजुरी÷सूचनाका आधारमा २० पटक र संयुक्त बजार अनुगमन १० पटक गरेको छ ।
कार्यालयले आ.व. २०७८/७९ मा विभिन्न नमूना परीक्षण तथा तरकारी फलफुलको विषादी परीक्षणबाट १ करोड ७ लाख ६७ हजार १ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ ।
स्वच्छ तथा गुणस्तरीय खाद्य तथा दाना पदार्थ पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न खाद्य ऐन २०२३ तथा दाना पदार्थ ऐन २०३३ को परिधिभित्र रही अनुगमन÷नियमन, परीक्षण, सचेतना लगायतका कार्यहरु गर्दै आइरहेको कार्यालय प्रमुख दाहालले बताए । कार्यालयले साविकको लुम्बिनी अञ्चलका ६ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालय र मातहतका पाल्पा र कपिलवस्तुका २ वटा डिभिजन कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न सचेतना तथा प्रबद्र्धनात्मक कार्यक्रमबाट उपभोक्तालाई सचेत गराउँदै आएको दाहालले दावी गरे । जसमा विभिन्न व्यवसायीसँग अन्तक्रिया कार्यक्रम, खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सूचना तथा सन्देश प्रचारप्रसार र होटलमा खाद्य स्वच्छताको आधारमा लोगो स्तरीकरण तथा नविकरण जस्ता कार्यहरु गर्दै आइरहेको दाहालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij