२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सञ्चार जगतको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल

बिहिवार , मंसिर ११, २०७७

बुटवल, ११ मंसिर । 
बुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिक १७ औं वर्षमा प्रवेश गरेको छ । 

आफ्नो वार्षिकोत्सवको अवसरमा बुटवलमा ‘कोभिड–१९ र अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे । 

उद्घाटनमा बोल्दै उनले दैनिक पत्र राष्ट्रिय दैनिक मोफसलको उत्कृष्ट सञ्चार माध्यम भएको बताउँदै बिगतमा पत्रिकाले गरेका कामहरुको प्रशंसा समेत गरेका थिए । उनले नेपालको परिवर्तनमा दैनिक पत्र राष्ट्रिय दैनिक, जनसंघर्ष र स्वाधीन जस्ता सञ्चार माध्यमको  महत्वपूर्ण भूमिका रहेकोे बताए । 

संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि एवं संस्थागत  गर्न सञ्चार र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए । कार्यक्रममा मन्त्री पौडेलले सञ्चार जगतको भूमिकालाई कमजोर ठान्न नहुने पनि बताए ।  उनले व्यक्तिको पद जोगाउन नभई संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायीत्व जरुरी रहेको बताए । अर्थभन्त्री पौडेलले ओली नेतृत्व सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने बताए  ।   

कार्यक्रममा बोल्दै दैनिक पत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा कार्यकारी प्रमुख अधिवक्ता बालकृष्ण चापागाईंले दैनिक पत्र राष्ट्रिय  दैनिक मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै  संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताए । उनले कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतको बारेमा कसैले नसोधेको बताए ।  जनतालाई पलपलमा समाचार र सूचनाको माध्यमबाट सू–सुचित गराउने कार्यमा दैनिक पत्र राष्ट्रिय दैनिकको अह्म् भूमिका भएको बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बोल्दै अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताए । उनले आर्थिक रफ्तारलाई समाजसंग जोड्नको लागि मिडियाको भूमिका निकै महत्वपूर्ण रहेको बताए । उनले सरकार आपसी झगडा भन्दा माथि उठेर बलियो बन्न समेत सुझाव दिए । उनले समाजमा पछिल्लो समयमा अराजकता फैलिएको भन्दै त्यसलाई सबै तह मिलेर रोक्नुपर्ने तर्क गरे । 

कार्यक्रममा लेखक तथा साहित्यकार झपेन्द्र जीसीले स्वदेशमा काम गर्ने सोच निर्माण नहुँदासम्म आर्थिक अवस्था चलायमान नहुने बताए । उनले सबैले स्वदेशमा नै बसेर काम गरी आयआर्जन गर्ने मानसिकता बनाउन आग्रह गरे । स्वदेशमा बसेर कृषिजन्य सामग्रीहरु निर्यात गर्ने गरी काम गर्न पनि आग्रह गरे । कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै  नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले कोरोनाको कारणले सबैभन्दा ठूलो मारमा पत्रकार र सञ्चार माध्यम परेको बताइन् । उनले आफुले काम गरेको पारिश्रमिक समेत पत्रकारले नपाएको बताइन् । उनले प्रदेश सरकारले मिडियाको क्षेत्रमा छुट्टाएको रकम समेत फ्रिज भएको बताउँदै सरकारको तर्फबाट केही राहत समेत नदिएको बताइन् । उनले मिडिया बिना लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने बताइन् । 

बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराईले कोरोनाको कारणले उद्योग व्यवसाय बन्द हुँदा बेरोजगारी बढ्दै गएको बताए । कृषिमा लगानी नहुनुले पनि आर्थिक अवस्था चलायमान नभएको बताए । उनले कोरोनाको कारणले उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगेको बताए । उनले व्यवसाय जोगाउनको लागि राहत दिने अवस्था नहुनुले निकै समस्या परेको दुःखेसो गरे । 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले कोरोनाको कारणले पर्यटन व्यवसाय उठ्न नसक्ने गरी थला परेको बताए । पर्यटन व्यवसायलाई बचाउनको लागि सरकारले कुनै राहतको कार्यक्रम नल्याएको बताउँदै दुखेसो गरे । उनले देशको अर्थतन्त्र बलियो बनाउनको लागि देशमा भएको खनिज र  जडिबुटी उत्खनन् र प्रशोधन गरी निर्यात गर्नुपर्ने तर्क गरे
कार्यक्रममा बोल्दै प्राध्यापक लिलाबल्लभ ढकालले नेपालको अर्थतन्त्र बलियो बनाउनको लागि कृषिको महत्वपूृर्ण भूमिका रहेको बताए । उनले कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्न आवश्यक रहेको बताए । कृषिबाट नै आर्थिक समृद्धि हुने उनले तर्क गरे । 

लेखक तथा अर्थस्तम्भकार माधव कुमार पौडेलले नेपालको अर्थतन्त्रमा  कोरोनाले निकै प्रभाव पारेको बताए । उनले नेपालको अर्थतन्त्र अझैपनि रेमिटान्समै निर्भर रहेको बताए । उनले नेपालको आर्थिक अवस्था चलायमान बनाउन आवश्यक पहल सबैले गर्नुपर्ने बताए । उनले देशलाई आर्थिक रुपमा बलियो हुनका लागि आयातलाई घटाउँदै निर्यात बढाउनुपर्ने बताए । 
। 

कार्यक्रममा दैनिक पत्र राष्ट्रिय दैनिकका व्यवस्थापक मञ्जु पौडेलले स्वागत स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड–१९ को प्रकोपकाबीच पनि दैनिक पत्र लगायतका प्रकाशनहरु निर्भिकताका साथ पाठकका हातमा पु¥याउन सकेकोमा गौरवबोध भएको बताइन् ।  

बुटवल मिडिया प्रकाशन प्रा.लि.का अध्यक्ष तथा प्रधान सम्पादक अधिवक्ता बालकृष्ण चापागाईको अध्यक्षता, प्रबन्ध सम्पादक ऋषि आजादको धन्यवाद ज्ञापन तथा दैनिक पत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक सी.पी. खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।