२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमामा १५ शैयाको सरकारी अस्पताल शिलान्यास

बजेटको सुनिश्चितता हुन्छ : अर्थमन्त्री पौडेल

बिहिवार , मंसिर ११, २०७७

भैरहवा, ११ मंसिर ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोरकट्टामा निर्माण हुने १५ शैयाको सरकारी अस्पतालको बिहीबार शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलन्यास गरे ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी  अस्पताल बनाउन थालिएको हो । अस्पताल निर्माण भइ सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका हुन् । २०४० सालमा उनीहरुले दश कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उनका छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।
 
हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी  अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउनेछ । शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट पारे । ‘बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस्”–अर्थमन्त्री पौडेलले भने ।’ उनले तिलोत्तमाकै सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताए । तिलोत्तमाको वडा नम्बर १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकै गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रै विकासे योजना अघि बढाइने बताए । तिलोत्तमा व्यवस्थित सहरको रुपमा अघि बढेको बताउँदै उनले व्यवस्थित सहर बनाउने कुनै पनि काममा विचलित नहुन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तीनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताए । उनले सेमराबजार स्वास्थ्य चौकीको स्तरोन्नती पनि अपरिहार्य रहेको बताउँदै अर्थमन्त्रीले यसमा आवश्यक ध्यान पु¥याउने विश्वास व्यक्त गरे । उनले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाई नहर, सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरे । त्यस्तै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउँदै सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गराउन अर्थमन्त्री पौडेललाई आग्रह गरिन् ।
 
कार्यक्रममा जग्गादाता मध्येका जीवन प्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझै उचाईंमा पु¥याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुँदा ओझा परिवार गौरवान्वित भएको बताए । त्यसक्रममा जग्गा उपलब्ध गराउने जीवन प्रसाद ओझा, कल्याण प्रसाद ओझा र नारायण प्रसाद ओझालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष सुखदेव न्यौपाने, स्वास्थ्य चौकी ईञ्चार्ज ज्ञान प्रसाद पौडेल लगायतले पनि बोलेका थिए ।