२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

मनकामना स्मार्ट लघुवित्तद्वारा अस्पताल, विद्यालय र वृद्धाश्रमलाई सहयोग

आइतवार , श्रावण १, २०७९

भैरहवा, १ साउन ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानसहित तीनवटा विद्यालय र वृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ । नेत्र विज्ञान अध्ययन संस्थानलाई १ लाख ३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । अस्पतालमा आउने गरीव तथा विपन्न नागरिकलाई आँखा उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका संचालकद्वय प्रदिपकुमार सुद्रनिया र अभिषेक बेरिवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष राणाले भैरहवाको आँखा अस्पताल सबैको सहयोगबाटै बनेको र मनकामना स्मार्ट लघुवित्तले उपलबध गराएको सहयोग सही काममा प्रयोग हुने बताए । उनले आँखा अस्पतालले नेपालका दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।

कार्यक्रममा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देव सिंह बिष्टले संस्थाले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

संस्थाले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा रहेको श्री सत्य साई वृद्ध सेवा आश्रमलाई पनि ३४ हजार भन्दा बढी मूल्यको शुद्ध खानेपानी फिल्टर तथा अन्य आवश्यक भाँडाकुँडा उपलब्ध गराएको छ । संस्थाका संचालकद्वय प्रदीपकुमार सुद्रनिया र अभिषेक बेरिवालले बृद्धाश्रमका अध्यक्ष माया खरेल र ब्यवस्थापक केशव पौडेललाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

filter tilottama.jpeg

त्यसै गरी संस्थाले तिलोत्तमा नगरपालिका वडा नम्बर ९ स्थित विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयलाई ४६ हजार २ सय रुपैयाँको शुद्ध खानेपानीका लागि फिल्टर प्रदान गरेको छ । संस्थाका संचालक अच्युत पन्तले रोटरी क्लब अफ मणिग्रामको संयोजनमा विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेलाई फिल्टर हस्तान्तरण गरेका हुन् ।

संस्थाले दाङको श्री माध्यमिक विद्यालय जजरागाउँ घोराहीलाई पनि १ लाख ५ हजार रुपैयाँको शुद्ध पिउने पानी फिल्टर मेशिन उपलब्ध गराएको छ । त्यसै गरी सरस्वती प्राथमिक विद्यालय सुक्रौलीलाई पनि ३५ हजार ५ सय रुपैयाँको शुद्ध पिउने पानी छान्ने फिल्टर उपलब्ध गराइएको जनाएको छ । भैरहवामा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा सेवा प्रदान गर्दै आएको छ ।