२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सचिवालय उद्घाटन गरी सुरु भयो लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिलको कार्यकाल

बिहिवार , आषाढ ३०, २०७९

भैरहवा, ३० असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२२/०२३ का अध्यक्ष सुनिल सेञ्चुरीको नेतृत्वको कार्यकालमा पहिलो कार्यक्रम अन्तर्गत सचिवालय उद्घाटन गरिएको छ । क्लबको बैठक तथा कार्यक्रमहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यले भैरहवास्थित बैंकरोडमा सचिवालय स्थापना गरी बिहीबार उद्घाटन गरिएको अध्यक्ष सेञ्चुरीले बताए । सचिवालयका लागि समाजसेवी तथा लायन्स डिष्ट्रिक अनरी एडभाइजर प्रेम कुमार सेञ्चुरीले कोठा उपलब्ध गराएका छन् ।

सचिवालयको लायन्स डिष्ट्रिक ३२५ पी नेपालका संस्थापक गभर्नर नवराज न्यौपाने र अनरी एडभाइजर समाजसेवी प्रेम कुमार सेञ्चुरीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ पी नेपालका संस्थापक गभर्नर न्यौपानेले लायन्सले जीवन जिउने कला सिकाउने बताए । उनले अरुलाई सहयोग गर्ने व्यक्ति कहिल्यै गरीब नहुने बताए । गभर्नर न्यौपानेले नेतृत्वलाई सफल र क्लबलाई अगाडि बढाउन टीमले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभले अझ रचनात्मक कार्य गर्नेछ भन्नेमा विश्वस्त छु ।’

समाजसेवी तथा लायन्स डिष्ट्रिक अनरी एडभाइजर प्रेम कुमार सेञ्चुरीले सचिवालयको अभावमा क्लबको बैठक तथा कार्यक्रम गर्ने समस्या रहेको कुरालाई मध्यनजर गर्दै सचिवालय स्थापना हुनु सराहनीय रहेको बताए । उनले भने, ‘लायन्सले सही बाटोमा पुर्याउँछ ।’

293694034_3154954211481548_6923306521623040782_n.jpg

लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष महेशचन्द थापाले लायन्स क्लबमा आबद्ध भएका सदस्यहरुले पृथक ढंगले काम गर्दै आएको बताए ।

लायन्स एरिया चिफ संगम न्यौपाने सचिवालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै लैजानुपर्ने बताए । लायन्स एरिया–५ का कोषाध्यक्ष विनय कसौधनले सचिवालय स्थापना भएपछि बैठक लगायतका कार्यक्रम गर्न सजिलो भएको बताए ।

जोन चेयरपर्सन दुर्गा आचार्यले वर्ष २०२२/२३ को पहिलो कार्यक्रम अन्तर्गत सचिवालय उद्घाटन गरेर लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले राम्रो कार्यको सुरुवात गरेको बताइन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष भीष्म प्रसाद न्यौपानेले लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले अझ प्रगति गरोस् भन्दै शुभकामना दिए ।

293744685_3154955364814766_2633042777799690128_n.jpg

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिल सेञ्चुरीको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका सह-सचिव गणेश न्यौपानेको स्वागत, द्वितीय उपाध्यक्ष मिलन विश्वकर्माको ध्वजा अभिवादन तथा सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।