२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बुटवल उवासंघ र जि.आई.जेड.को सहकार्य : स्वास्थ्य सुरक्षा जनचेतना अभियान

बुधवार , मंसिर १०, २०७७

बुटवल, १० मंसिर । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र जि.आई.जेड.को सहकार्यमा स्वास्थ्य सुरक्षा जनचेतना अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकाबीच यसबाट बच्न र बचाउनको लागि भन्दै सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा बुटवलमा जनचेतना अभियान सञ्चालन गरिएको हो ।

साना उद्योगी व्यबसायीलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य जनचेतना अभियान अन्तरगत बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित व्यवसायिक प्रतिष्ठानमा पुगेर स्वास्थ्य मापदण्डको बारेमा जानकारी गराउने तथा कोरोना भाईरस संक्रमणबाट बच्न र उपभोक्ता (ग्राहक)लाई समेत बचाउनको लागि मापदण्डको पालना गर्न आग्रह गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए ।

जिआईजेडको स्थानीय, प्रादेशिक आर्थिक बिकास परियोजना अन्तरगत बुटवल उद्योग बाणिज्य संघसंगको सहकार्यमा सञ्चालन गरिएको अभियान गत सोमबारदेखि सुरु गरिएको हो । अभियानमा खटिएका सहजकर्ताले पसल पसल पुगेर स्वास्थ्य मापदण्डको बारेमा जानकारी गराउने, स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्ने र जानकारीमुलक पम्पलेट वितरण गर्ने गरेका छन् । त्यसको लागि दुई जना सहजकर्ता खटाइएको छ ।

कोरोना भाइरस संक्रमणबाट आफू पनि बच्न र उपभोक्ता (ग्राहक) लाई पनि बचाउनको लागि विशेष गरेर मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा साबुनपानीले हात धुन तथा सेनिटाइजर गर्न र सामाजिक दुरी कायम गरेर व्यबसाय सञ्चालन गर्न आग्रह गरिएको संघका कार्यकारी निर्देशक कार्की बताउँछन् । त्यस्तै पसलभित्रका उपकरणहरु जस्तै : टेबल, बास्केट काँटा लगायतका उपकरणहरु समयसमयमा सफा गर्न, पसल भित्र ग्राहकको संख्या सिमित राख्न, सकेसम्म नजिकका ग्राहकलाई होम डेलिभरीको व्यबस्था मिलाउन तथा सम्भव भएसम्म डिजिटल भुक्तानीको व्यबस्था मिलाउन र सम्भव नभएर बक्समा पेमेन्ट गर्ने व्यबस्था गर्न आग्रह गरिएको छ ।

दश दिनसम्म सञ्चालन गरिने अभियान अन्र्तगत स्वास्थ्य सुरक्षाको बारेमा जानकारीमुलक सामाग्रीसहित चोकचोकमा माईकिङ् समेत गरिएको छ । यसले विक्रेता र उपभोक्तालाई समेत आफ्नो स्वास्थ्यप्रति सचेत गराउने संघले विश्वास लिएको छ ।