images

शुक्रवार, बैशाख २१ गते २०८१

‘कच्चा पदार्थको अभावले ईट्टा उद्योग संकटमा’

‘कच्चा पदार्थको अभावले ईट्टा उद्योग संकटमा’

images
images
images
सोमवार, आषाढ २७ २०७९
सोमवार, आषाढ २७ २०७९
  • ‘कच्चा पदार्थको अभावले ईट्टा उद्योग संकटमा’

    भैरहवा, २७ असार ।
    ईट्टा उत्पादनका लागि भारत लगायत तेस्रो मुलुकबाट आयात हुने कोइलाको अभाव र वर्तमान परिवेशमा मागमा कमी आउँदा ईट्टा उद्योग संकटमा परेको उद्योगी व्यवसायीहरुले बताएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ईट्टाको उत्पादन लागत बढेकाले उद्योग संकटमा परेको उनीहरुले बताएका हुन् ।

    images
    images
    images

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको सोमबार उद्घाटन समारोहमा बोल्ने ईट्टा उद्योगी व्यवसायीहरुले ईट्टा उद्योगलाई धरासयी हुनबाट जोगाउन र यसको संरक्षणका लागि तीनै तहका सरकारसँग माग गरेका छन् ।

    भैरहवामा भएको कार्यक्रममा बोल्दै नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले ईट्टा उद्योगी एकआपसमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले ईट्टा उद्योगीहरुले उद्योगको संरक्षणका लागि एकजुट भएर समय दिनुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषसम्बन्धमा धेरैपटक श्रम मन्त्रालयमा पुगेको बताए । तर मन्त्रालयकोतर्फबाट ईट्टाका लागि अलग गर्न नसकिने जवाफ पाइएको बताए । उनले कोषमा जाने कुरामा महासंघको विमत्ति नरहेको बताए । उनले भने, ‘उद्योगमा काम गर्ने मजदूरको भरणपोषण र स्वास्थ्यको विषयमा हामी जानकार हुनैपर्छ, मानवअधिकारका कारणले, उद्योगका सञ्चालकका कारणले, हामीले उद्योग सञ्चालनमार्फत दुई चार पैसा कमाउने भएका कारणले निमुखा वर्गको सुविधाप्रति ध्यान दिन जरुरी छ । ’ अध्यक्ष चन्दले सामाजिक सुरक्षा कोषका बारेमा महासंघको धारणा भन्नुपर्दा तराईमा रहेका उद्योगमा झण्डै ८० देखि ९० प्रतिशत तथा उपत्यका लगायत पहाडी क्षेत्रमा करिब ३० प्रतिशत भारतीय मजदूर कार्यरत रहेको बताए । उनले भने, ‘भारतीय कामदारले न त बैंक खाता खोल्न सक्छन्, न त कोषमा जम्मा गरेर प्रतिफल पाउन सक्छन्, प्रतिफल नपाउने ठाउँमा लगानी गर्न कामदार सहमत छैनन्, कामदार सहमत भएनन भने कोषमा जाने कानूनले भने पनि सुहाउँदैन, कि सरकारले हामीलाई नेपाली कामदार दिनुपर्छ, होइन भने यो सम्भव छैन । ’ यसका लागि आन्दोलन गर्नुपरे उद्योगी तयार रहनुपर्ने उनको भनाइ थियो । उनले आयकर, भीसीटीएसका नाामा सरकारले आफूहरुले जालमा हाल्न लागेको बताए । ईट्टा उद्योगीले एकै आन्दोलन गरेर सफल हुन नसक्ने भएकाले सबै व्यवसायिक संघ–संगठन एकै ठाउँमा आउनुपर्ने उनले बताए ।

    नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले कर उठाउने ठाउँमा मात्र राज्य छ भन्ने लागिरहेको बताए । उनले ईट्टा उद्योगीको समस्याका बारेमा कुनै निकायले सोच्न नसकेको बताए । उनले चर्को बैंक ब्याजदरले उद्योगी मर्कामा परेको बताए । 

    लुम्बिनी प्रदेश ईट्टा उद्योग व्यवसायी संघका महासचिव रुप बहादुर भुसालले धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । उनले ईट्टाको मूल्य बढाउन खोज्दा मूल्य बढाइयो भन्ने उद्योगीमाथि आरोप आउने गरेको बताए । महासचिव भुसालले बैंकलाई ब्याज बुझाउने स्थितिमा उद्योगी नरहेको बताए । उनले बैमौसमी वर्षाका कारण वर्षेनी करौडौं ईट्टा नष्ट हुँदै आएको र काँचो ईट्टाको बीमाको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे पनि त्यो पूरा हुन नसकेको गुनासो गरे । उनले भने, ‘सरकारले कर मात्र लिन्छ तर उद्योगी व्यवसायीलाई दिनुपर्ने सुविधा दिन सकेको छैन ।’

    लुम्बिनी ईट्टा उद्योग संघका पूर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले ईट्टा उद्योगी व्यवसायीलाई सम्बन्धित निकायले कमजोर ठान्न नहुने बताए । उनले हिजोको ईट्टा व्यवसाय र आजको ईट्टा व्यवसायमा फरक रहेको बताए । उनले ईट्टा उद्योगी नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा स्थानीय तह निर्वाचनको नतिजाले देखाएको बताए ।रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेलले नेपालको अर्थतन्त्रमा ईट्टा उद्योगको राम्रो योगदान रहेको बताए । उनले उद्योगीलाई राज्यले उपेक्षा गरेको अनुभुति भएको बताए ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कोइलामा भएको मूल्यवृद्धि र दोहोरो तेहोरो करका कारण ईट्टा उद्योगी मारमा परेको बताए ।  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले ईट्टा उद्योगीको समस्या समाधानका लागि संघ सँगसँगै अगाडि बढेको बताए ।

    लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईले ईट्टा उद्योगका समस्याका बारेमा निरन्तर सञ्चार माध्यममार्फत समाचार सम्पेषण गर्ने बताए ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले ईट्टा उद्योग व्यवसाय निकै जोखिमपूर्ण प्रकृतिको व्यवसाय भएको बताए । उनले भारतीय तथा स्वदेशी श्रमिक प्रयाप्त संख्यामा उद्योगमा नआउँदा श्रमिक अभावका कारण उद्योग सहज ढंगले सञ्चालन हुन नसकेको बताए । 

    संघका महासचिव अजय कुमार गुप्ताले ठूलो लगानी भएको ईट्टा उद्योग बन्द भए धेरै समस्या आउने बताए । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता, नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका अध्यक्ष शंकर बहादुर चन्दको प्रमुख आतिथ्यता, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका उपाध्यक्ष अजय अधिकारीको स्वागत, सचिव रमेश खनालको धन्यवाद ज्ञापन तथा महासचिव अजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij