
आइतवार , आषाढ २६, २०७९
तिलोत्तमा, २६ असार ।
रोटरी क्लब अफ बुटवलको ३० औं पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले वर्ष २०२२/२३ का अध्यक्ष बोनिन पियालाई पद हस्तान्तरण गरेका छन् ।
पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर अघि बढ्न आग्रह गरे । उनले विभिन्न क्षेत्रमा काम गर्दै आएको रोटरीले विपद् व्यवस्थापनमा पनि काम गर्ने अपेक्षा व्यक्त गर्दै रोटरीले अगाडि सारेका योजना र कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको पनि बताए ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र प्रसाद ध्वजूले रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भइरहेको भन्दै यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि रोटरी क्लब अफ बुटवललाई आग्रह गरे ।
कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर इलेक्ट ध्वजूले अध्यक्ष बोनिन पियालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष पियाले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै वर्ष २०२१/२२ का सचिव खिमनारायण पराजुलीले वर्ष २०२२/२३ का सचिव लालहरि पाण्डेलाई माइन्यूट हस्तान्तरण गरेका थिए । त्यसै गरी वर्ष २०२१/२२ का कोषाध्यक्ष गोपाल बस्यालले वर्ष २०२२/२३ का कोषाध्यक्ष जिवकान्त काफ्लेलाई अडिट रिपोर्ट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष बोनिन पियाले आफ्नो कार्यकालमा देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलमा बर्निङ युनिट (जलेका बच्चाको उपचार कक्ष) स्थापना गर्नेलगायतका योजना अगाडि सारेको बताए । त्यस्तै अस्पतालको फोहर व्यवस्थापन पनि आफ्नो योजनामा रहेको उनले सुनाए । अध्यक्ष पियाले अहिलेसम्म यो क्लब मातहत १२ वटा रोटरी क्लव, ६ वटा रोट्रयाक्ट क्लब, ३ वटा इन्ट्रयाक्ट क्लब र दुईवटा आरसिसी क्लब रहेको भन्दै आफ्नो कार्यकालमा थप ३ वटा रोटरी क्लब स्थापना गर्ने योजना बनाएको जानकारी दिए ।
त्यस अवसरमा क्लबका पूर्व अध्यक्ष तथा क्लब मेन्टर हरिप्रसाद पौडेल, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, रोट्रयाक्ट इन्टरनेशनल डिष्ट्रिक ३२९२ का लक्ष्मण खरेल, क्लबका प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डे, गोपालप्रसाद अधिकारी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा क्लबद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij