२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर–५ मा जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई सम्मान

मंगलवार , आषाढ २१, २०७९

भैरहवा, २१ असार ।
सिद्धार्थनगर नगरपालिका वडा समितिको कार्यालय वडा नम्बर ५ सिद्धार्थनगर, रुपन्देहीले वडाभित्रका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई सम्मान गरेको छ । वडा समितिको कार्यालय वडा नम्बर ५ को आयोजनामा मंगलबार सम्मान कार्यक्रम गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

मारवाडी सेवा संघको सभाहलमा भएको कार्यक्रममा ८४ जना जेष्ठ नागरिक, १८ जना एकल महिला र ४ जना अपांगता भएका व्यक्तिलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको सिद्धार्थनगर–५ का वडा सदस्य तथा कार्यक्रम संयोजक विनित कुमार बेरिवालले बताए । उहाँहरुलाई पौष्टिक आहार समेत वितरण गरिएको बेरिवालले जानकारी दिए ।

कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।

वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचन, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का अध्यक्ष सुशिल गुरुङ, क्षेत्र नम्बर ३ (क) का अध्यक्ष सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ लगायतले बोलेका थिए ।

वडा सदस्य विनित कुमार बेरिवालको स्वागत तथा दिपेन्द्रमान श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।