
सोमवार , आषाढ २०, २०७९
बुटवल, २० असार ।
बुटवलमा रहेका व्यवसायिक संघ–संस्थाहरुको सञ्जालले बुटवल मण्डपको नाम संशोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावप्रति असहमति जनाएको छ । सञ्जालको आइतबार बुटवलमा सम्पन्न बैठकले बुटवलका व्यवसायिक संघ संस्थाहरुको भावनाविपरीत बुटवलको गहनाको रुपमा विकसित हुँदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगरपालिकासँग आग्रह गरेको छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तन गरी गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेको थियो । नाम फेर्ने प्रस्तावप्रति यस क्षेत्रमा रहेका व्यवसायिक संघसंस्थाहरुको बैठकपछि जारी विज्ञप्तीमा नाम फेर्ने प्रस्ताव प्रति सन्जालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तीमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने गहनाको रुपमा विकास हुँदै गरेको बुटवल मण्डपको नाम यस क्षेत्रका आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाविपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ ।
‘सामूहिक भावना र सहकार्यको मर्मलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट निर्णय गरिनु अधिकारको मनोमानी हो भन्ने हाम्रो ठम्याई छ । सञ्जालले देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, नवीनतम् प्रविधिको खोज र अनुसन्धान गर्दै देशको कला, संस्कृति तथा पर्यटनको विकास गर्न यस क्षेत्रका व्यवसायिक संघ–संस्थाहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरुमार्फत थालनी गरेको प्रयासलाई मूर्त रुप दिने उदेश्यका साथ बुटवल मण्डपको स्थापना भएको स्मरण गराउँदै बुटवलमा स्थायी प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघ–संस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरुको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ ।
‘बुटवलको ऐतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत विवादमा ल्याउने गरी नामाकरण गरिनु आफैमा दुःखद छ भएको भन्दै सञ्जालद्वारा जारी विज्ञप्तीमा बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवल मण्डपको नाम संशोधन फिर्ता लिई आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाको कदर गर्दै एतिहासिक र स्थापित नाम बुटवल मण्डप नै कायम गर्न आग्रह गर्दछौं, भनिएको छ । बैठकमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न २१ वटा व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको बैठकका अध्यक्षता गरेका नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij