२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

जोखिम भत्ता पाउनुपर्ने स्वास्थ्यकर्मीको माग : भीम अस्पतालमा तीनघण्टा ओपिडी बन्द

सरकारले वेवास्ता गरेको आरोप

आइतवार , आषाढ १९, २०७९

भैरहवा, १९ असार ।
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले आइतबार अस्पतालको ओपिडी सेवा तीन घण्टा बन्द गराएका छन् । अस्पतालमा बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द गरिएको भीम अस्पताल संघर्ष समितिका अध्यक्ष स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए ।

सरकारले घोषणा गरेको जोखिम भत्ता पाउनुपर्ने माग गर्दै असार ७ गतेदेखि नै आन्दोलन सुरु गरे पनि सरकारले वेवास्ता गरेको उपाध्यायले बताए । उनले अस्पतालका १७४ जना स्वास्थ्यकर्मी मात्र नभइ जनता र विभिन्न संघ–संस्था पनि आफूहरुको साथमा रहेकाले आन्दोलनलाई कमजोर नठान्न आग्रह गरे । उनले भने, ‘हाम्रो आन्दोलन तुहाउने प्रयास गर्न खोजिएको छ, तर माग पुरा नभएसम्म आन्दोलन गर्छौं, आन्दोलनलाई अझ सशक्त बनाउँछौं ।’ उनले कोेरोना महामारीमा भीम अस्पतालमा भुंइमा राखेर समेत संक्रमित बिरामीको उपचार गरिएको बताए । अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।

संघर्ष समितिका सचिव जनकराज पन्तले स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनलाई तुहाउने प्रयास गरिएको बताए । उनले हालसम्म सरकारले आफूहरुको समस्या समाधान तर्फ चासो नलिएको बताए । उनले भने, ‘बिरामीलाई दुःख दिने हाम्रो कुनै उद्देश्य छैन, आफूले पाउनुपर्ने जोखिम भत्ताका लागि सरकारलाई दबाबका निम्ति यो आन्दोलन गरिएको हो ।’

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले आन्दोलन गर्नु स्वास्थ्यकर्मीको रहर नभइ बाध्यता भएको बताए । उनले कोभिडको बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचार गरेका स्वास्थ्यकर्मीको मागप्रति सरकारले चासो नदिएको बताए । उनले आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए । स्वास्थ्यकर्मीहरुको माग पुरा गराउन अस्पताल प्रशासनले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । 

लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुलाई धम्की दिएर समस्याको समाधान नहुने बताए । उनले आन्दोलनप्रति आफूसँगै जनताको समेत साथ र समर्थन रहने बताए । उनले भने, सरकारले मागको सुनुवाइ नगरे जनता समेत स्वास्थ्यकर्मीको साथमा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

शुक्रबार दुई घण्टा र आइतबार तीन घण्टा ओपीडी सेवा बन्द गरेका आन्दोलनरत स्वास्थ्यकर्मीले सोमबारदेखि पूरै समय ओपीडी बन्द गर्ने चेतावनी दिएका छन् ।

IMG-20220703-WA0005.jpg

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारीको समयमा भीमसहित लुम्बिनी प्रादेशिक, राप्ती प्रादेशिक, पृथ्वीचन्द्र अस्पतालमा सेवा दिएका स्वास्थ्यकर्मीको भत्ता रोकिएको बताए ।
उनले भने, ‘यो भीम अस्पतालको मात्रै समस्या होइन, देशभरका अस्पतालमा छ, उहाँहरुले अस्पतालमा सेवा बन्द गरेर पाउने पनि होइन, संघीय सरकारले दिने बजेट हो प्रदेशले समन्वय गर्ने हो, हामीले समन्वय गरेका छौं। ’