२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

आइतवार , आषाढ १९, २०७९

काठमाडौं, १९ असार । सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नबुझाउने सहकारीलाई सरकारले कारबाही गर्ने भएको छ । 

हालसम्म अनलाइन प्रणालीमा आबद्धता र विवरण बुझाउनुपर्ने व्यवस्थालाई ऐच्छिक बनाएको सहकारी विभागले यसलाई अनिवार्य गरेको हो । विभागले आगामी आर्थिक वर्षदेखि कर चुक्ताको प्रमाणपत्र लिनसमेत कोपोमिसमा विवरण राखेको हुनुपर्ने व्यवस्था गरेको हो । यसका लागि आन्तरिक राजस्व विभागमार्फत राजस्व कार्यालयहरूलाई सर्कुलर भइसकेको छ। 

भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट कोपोमिस सञ्चालनमा ल्याएको थियो । सफ्टवेयरमा देखिएका प्राविधिक समस्या र प्रयोगकर्ताको उदासीनताका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।विभागले हाल प्राविधिक समस्या हल गर्नुका साथै यसमा पठाउनुपर्ने विवरणसमेत परिवर्तन गरेको छ । विगतमा सदस्यको नागरिकता नम्बरसमेत पठाउनुपर्ने व्यवस्था रहेकोमा हाल सहकारी संस्थाले समष्टिगत रूपमा संस्थाको विवरणमात्र पठाउनुपर्ने व्यवस्था गरेको छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको तथ्यांकअनुमानको भरमा भन्नुपर्ने अवस्था विद्यमान रहनु लाजमर्दो विषय भएको बताए ।संघीय विभागका अनुसार देशभर २९ हजार सहकारी संस्था दर्ता रहेकोमा १५ हजार ३४० संस्थाले कोपोमिस सञ्चालनका लागि युजर नेम र पासवर्ड लिएका छन् । त्यसमध्ये ९ हजारले मात्र प्रणालीमा लगइन गरेका छन् । तर, नियमित तथ्यांक बुझाउने सहकारी भने अत्यन्त न्यून छन् । ३ हजार सहकारीले मात्र विभागको निर्देशनअनुसार समष्टिगत विवरण बुझाएका छन् ।न्युज कारखाना