
आइतवार , आषाढ १९, २०७९
भैरहवा, १९ असार ।
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले शनिबारदेखि अस्पतालमा अनिश्चिकालिन धर्ना तथा विरोध कार्यक्रम सुरु गरेका छन् । भीम अस्पताल संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको स्वास्थ्यकर्मीहरुले धर्ना सुरु गरेका हुन् ।
संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले कोरोना महामारीको बेला स्वास्थ्यकर्मीले सेवा पुर्याएको र सरकारले आफैले बोलेको कोरोना जोखिम भत्ता नदिएको बताए । उनले असार मसान्त आउन लाग्दा हालसम्म समेत जोखिम भत्ता नपाएकाले स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिनुपरेको बताए । उनले अहिले शान्तिपूर्ण आन्दोलनमा रहेको र सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । अध्यक्ष उपाध्यायले भने, ‘असार ७ गतेदेखि संघर्षमा उत्रिएका छौं, १२ दिन बढी भइसक्दा पनि सरकारले कुनै चासो दिएको छैन, हालसम्म पनि सरकारको प्रतिनिधिबाट कुनै प्रतिक्रिया आएको छैन्, हाम्रो आन्दोलनलाई सरकारले नजरअन्दाज नगरोस् । ’उनले भीम अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी रुपमा जान सक्ने चेतावनी दिए ।
अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।
भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष आनन्द प्रसाद गुप्ताले कोभिडको बेला जोखिममा काम गरेको स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनुपर्ने माग गरे । उनले आन्दोलनका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले बिरामीहरुको उपचार गरिरहनुभएको बताए । गुप्ताले स्वास्थ्यकर्मीका जायज माग सरकारले नसुने अफ्ठयारो स्थिति आउन सक्ने बताए । उनले आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए ।
अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता वापतको रकम हालसम्म पनि आउन नसकेको बताए । उनले अस्पतालबाट २–३ पटक मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । अस्पतालबाट सहयोग समन्वय भए पनि हालसम्म पनि रकम प्राप्त हुन नसकेको उनको भनाइ छ ।
भीम अस्पताल संघर्ष समितिले शुक्रबार दुई घण्टा ओपडी सेवा बन्द गराएको थियो । आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार (आज) बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गरिने संघर्ष समितिका सचिव जनकराज पन्तले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij