
शनिवार , आषाढ १८, २०७९
बुटवल, १८ असार ।
रोटरी क्लब अफ बुटवलको १४ सय २१ औं नियमित तथा वर्ष २०२२/२३ को प्रथम बैठक शनिबार सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवल वर्ष २०२२/२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।
बैठकमा अध्यक्ष पियाले रोटरीले गर्ने आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै रोटरीयनहरुको सक्रियता बढाउन विशेष पहल गर्ने बताए । उनले रोटरी भवनको सुरक्षाका लागि ट्रष्ट राख्नुपर्ने आवश्यक देखिएकाले यसका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरिएको जानकारी दिए ।
बैठकमा सहभागी अन्य रोटरीयनहरुले कोभिड महामारीका कारण विगतका बैठकहरुमा रोटरीयनहरुको उपस्थिति न्यून हुने गरेको भन्दै अवका बैठकलाई आकर्षक बनाउन र रोटरीयनहरुलाई सक्रिय बनाउने गरी पहल गर्न नेतृत्वलाई सुझाव दिएका थिए । साथै उनीहरुले ६ वटा इन्ट्रयाक्ट क्लबमध्ये धेरैजसो निष्क्रिय रहेको भन्दै इन्ट्रयाक्ट क्लबहरुलाई पनि सक्रिय बनाउन र रोट्रयाक्ट क्लबहरुलाई पनि एकसाथ अगाडि बढाउन आग्रह गरेका थिए ।
त्यसअवसरमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, अन्य रोटरीयनहरु कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मनोहर जोशी, डिल्लीप्रसाद श्रेष्ठ, प्रज्वल थान्जु, कृष्ण पराजुली, इन्ट्रयाक्ट क्लबकी विनिता खनाल लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।
बैठकमा क्लबका निवर्तमान अध्यक्ष डा. ताराप्रसाद उपाध्याय र निवर्तमान सचिव खिमनारायण पराजुलीले रोटरी क्लव अफ बुटवलले वर्ष २०२१/२२ मा प्राप्त गरेको रोटरी अवार्डबारे जानकारी गराएका थिए । त्यस्तै बैठकमा क्लबका वर्ष २०२२/२३ का सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।
बैठककै अवसरमा वर्ष २०२१/२२ मा उत्कृष्ट सचिवको अवार्ड जित्न सफल खिमनारायण पराजुली, रोटरी क्लब अफ बुटवलको २९ वर्षको इतिहासमा शतप्रतिशत बैठकमा उपस्थित भएकोमा मणिरत्न पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij