
शनिवार , आषाढ १८, २०७९
भैरहवा, १८ असार ।
उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श) रुपन्देहीको आयोजनामा एकदिने व्यवस्थापकीय तथा लेखा तालिम शनिबार भैरहवामा सम्पन्न भएको छ ।
व्यवसायीहरुलाई लेखासम्बन्धी जानकारी गराउने, दक्ष जनशक्ति उत्पादन गर्ने र युवाहरुलाई विदेशिनबाट रोक्ने तालिमको उद्देश्य रहेको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । वार्षिक कार्ययोजना अन्तर्गत कार्यक्रम गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले लेखासम्बन्धी दक्ष जनशक्ति पाउन कठिन भएको बेला यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले लेखा दुरुस्त राख्ने सके व्यवसाय सफल बनाउन सकिने बताए ।
संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताए । उनले औपचारिक शिक्षा पुरा गरे पनि व्यवहारिक शिक्षाको अझ महत्व रहेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, उद्योग व्यापार संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल) लगायतले बोल्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक एवं संगठनका सचिवालय सदस्य सुरेन्द्र पाण्डेको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको प्रशिक्षकद्वय हरि प्रसाद कंडेल र सुमित पाण्डेले सहजीकरण गरेका थिए । तालिममा ८० जनाको सहभागिता रहेको संगठनका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij