२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

कैलालीको अत्तरियामा शाइन रेसुङ्गाको शाखा उद्घाटन

शुक्रवार , आषाढ १०, २०७९

बुटवल, १० असार ।  
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीको अत्तरिया शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । २०७८ मंसिर २६ गतेदेखि बैकिङ कारोबार गरेको उक्त शाखाको शुक्रबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विधिवत उद्घाटन गरेका हुन् । 

यसअघि सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा बैंकका शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख भट्टले दुर्गम ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्न बाँकी रहेको अवस्थामा शाइन रेसुङ्गा बैंकले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शाखा विस्तार गर्नु स्वागतयोग्य भएको बताए । 

नगरप्रमुख भट्टले अत्तरिया क्षेत्रका नागरिकलाई सहज र सरल बैंकिङ सेवा दिन बैंकलाई सुझाव दिए । चेम्बर अफ कमर्स अत्तरियाका अध्यक्ष तिर्थ ओझा र उद्योग वाणिज्य संघ अत्तरियाका वरिष्ठ उपाध्यक्ष कल्याण सिंह बोहराले नयाँ बैंकको शाखा सञ्चालनमा आउनुले स्थानीय उद्योगी व्यवसायीलाई आर्थिक कारोबार गर्न सहज हुने बताए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय जनताको माग र आवश्यकताअनुसार बैंकले कृषि, उद्योग, व्यसाय लगायत उत्पादनमुलक क्षेत्रमा सहज रुपमा कर्जा र निक्षेप योजना लागू गर्ने बताए । उनले शाइन रेसुङ्गा बुटवलमा केन्द्रीय कार्यालय भएको लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै बैंकले शहरी क्षेत्रसँगै ग्रामीण र दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । 

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटासहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराए । 

बैंकका कर्मचारी तेज रावलको सञ्चालनमा भएकोे कार्यक्रममा बैंकका सञ्चालक  मोहन चापागाई, विरेन्द्र विष्ट, विभागीय प्रमुख लालमणी पन्थी, क्षेत्रीय प्रमुख लेखनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । 

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन् ।