२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

इन्धन मूल्यवृद्विविरूद्ध बुटवलमा अनेरास्ववियुको मसाल जुलुस

सोमवार , आषाढ ६, २०७९

भैरहवा, ६ असार । 
रुपन्देहीको बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी, रुपन्देहीले सोमबार सांझ मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

मसाल जुलुसमा सहभागि विद्यार्थी नेता कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेका छन् ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले गठबन्धन सरकारले हप्ता हप्ता दिनमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेकाले आन्दोलन गरिएको बताए । 

सोमबार बिहान सवारीसाधन रोकेर सडक अवरूद्ध गरेको अनेरास्ववियुले दिउँसो सरकारी सवारीसाधनको आवतजावतमा रोक लगाएको थियो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको हो । एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।