
शनिवार , मंसिर ६, २०७७
भैरहवा। रुपन्देहीको तिलोत्तमा स्थित जनउत्थान सहकारी सहित लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशका १४ वटा सहकारीले यो ब्राण्ड पाएका हुन् । त्यसैगरी बागमती प्रदेशका १४ वटा, गण्डकी प्रदेशका ५, कर्णाली प्रदेशका ३, प्रदेश १ का ३ र प्रदेश २ का एउटा सहकारीले यो ब्राण्ड पाउन सफल भएका छन्। सुदूर पश्चिम प्रदेशबाट कुनै पनि सहकारीले यो ब्राण्ड पाउन सकेनन्।
नेपालस्तरको यो ब्राण्ड देशभरका १४ हजार बढी वचत तथा ऋण सहकारी संस्थाहरुमध्ये उत्कृष्ट सहकारीहरुलाई सहकारी विभाग र राष्ट्रिय सहकारी संघले हरेक वर्ष दिँदै आएको छ।
यो ब्राण्डका लागि विभिन्न ५० वटा सूचक राखिएका छन्। तीमध्ये सबैभन्दा महत्वपूर्ण दुई सूचकहरु ऋण ५ प्रतिशतभन्दा बढी भाका नाघेमा र संस्थागत कोष ५ प्रतिशतभन्दा कम भएमा त्यस्ता सहकारी यो ब्रान्ड पाउँदैनन्।
सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। लुम्बिनी प्रदेशबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देहीबाट देवदहको कोलिय, तिलोत्तमाको जनउत्थान र सामूहिक विकास तथा बुटवलको नमूना महिला विकास रहेका छन्।
यस्तै प्युठानको फूलबारी, नवलपरासी पश्चिबाट लुम्बिनी, सयपत्री र हाम्रो सुपर सहकारी रहेका छन्।
गुल्मीको लेकाली, दाङको महाप्रभु, बर्दियाको सिको र हाम्रो मध्यवर्ती राधाकृष्ण तथा कपिलवस्तुको सिनर्जी सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन्।
बागमती प्रदेशबाट काठमाठौंका ऐचोपैंचो र ज्ञानज्योति महिला उत्थान, दोलखाका एकीकृत फ्रेण्डसिप, जनमुखी, शिक्षक कल्याण, मकवानपुरका महिला अभियान, महिला जनचेतना, महिला मिलन, सक्रिय महिला, धादिङको श्रोत परिचालन, चितवनको लोक कल्याणकारी, भक्तपुरको सामूहिक र रामेछापको नवजागरण सहकारीले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन्।
गण्डकी प्रदेशमा कास्कीको जनसेवा, नवलपरासी पूर्वका नवप्रगति पृथ्वी र परोपकार तथा गोरखाको सप्तकोशी र भिमकुलले यो ब्राण्ड पाएका छन्। प्रदेश १ को मोरङका लेटाङ, गछिया र सुन्दरपुर, कर्णाली प्रदेशको सुर्खेतका गंगामाला स्वावलम्बन, ग्रामीण र शिखर तथा प्रदेश २ को रौतहटको नव विकास वचत तथा ऋण सहकारीले प्रोबेसन ब्राण्ड पाएका छन्।
गत वर्ष ३४ सहकारीले यो ब्राण्ड पाएकामा यो वर्ष ६ वटा थप भएका हुन्। यसअघिसम्म सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा ब्राण्ड प्रदान गर्दै आएकोमा यस वर्ष राष्ट्रिय सहकारी संघले संघको २९ औं वार्षिक साधारणसभाका अवसरमा ब्राण्ड वितरण गरेको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij