शुक्रवार , मंसिर ५, २०७७
भैरहवा, ५ मंसिर ।
छठ पर्वको तेस्रो तथा मुख्य दिन शुक्रबार भैरहवामा छठ पर्व मनाइएको छ । छठ पर्व मनाउनको लागि सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा श्रद्धालु भक्तजनहरु पुगेका थिए ।
कोरोना भाइरसलाई मध्यनजर गर्दै यस वर्ष छठ पूजा स्थलमा बनाइएका वेदीमा एक घरपरिवारबाट बढीमा दुई जनालाई मात्र आउन भनिएको राम जानकी हनुमान मन्दिर सेवा समितिकाअध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताए ।
कोरोना भाइरस महामारीको कारण यस वर्ष सि.न.पा.–५ सेवापथस्थित श्री काली भक्ति गणमा रहेको पोखरीमा छठ पूजा कार्यक्रम गर्न नसकिएको छठपूजन समितिका कार्यक्रम संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।
त्यसै क्रममा सि.न.पा.–६ स्थित मैथिल पथमा पनि छठ पूजा गरिएको स्थानीय आनन्द कर्णले बताए ।
कोरोना महामारीका कारण यस वर्ष कतिपय श्रद्धालुहरुले घरमै छठपर्व मनाएको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव राजन शुक्लाले बताए ।
शुक्रबार सांझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।








तस्विर : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij