२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अर्थमन्त्रीको जवाफमा एमाले असन्तुष्ट, संसदीय छानबिनको अडान

मंगलवार , जेठ ३१, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ३१ जेठ ।
    प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । 

    आगामी आवको विनियोजन शीर्षकमाथिको छलफल चलिरहँदा एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे । त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वका विषयमा जवाफ दिए । एमाले सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफमा चित्त नबुझेको र सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नसक्ने बताए ।

    भोलिको बैठकमा कानून न्याय तथा संसदीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ । रासस