
आइतवार , जेठ २९, २०७९
भैरहवा, २९ जेठ ।
रोजगारीको सिलसिलामा अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित फ्युचर लाइट हाई स्कूलमा ११ जना विद्यार्थीहरूलाई जनप्रतिनिधिको उपस्थितिमा दोस्रो वर्ष पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
अभिभावक रोजगारको सिलसिलामा देश बाहिर भई ज्यान गुमाएपछि पनि विद्यालयले अभिभावकत्व लिनुपर्छ भन्दै ११ जना विद्यार्थीलाई माइग्रेन्ट स्कलर्शसीप (पूर्ण छात्रवृत्ति)सहित शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्राचार्य गम्भिर गुरुङले बताए ।
बालबालिकाको पालनपोषण र परिवार पाल्नका लागि नै बाध्यताले नेपालीहरू विदेश गएका छन्, परिवारको खुसीका लागि पसिना बगाउन बाहिरिएका नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाइबाट वञ्चित नहोस् भन्नका लागि अहिले दोस्रो वर्ष पूर्ण छात्रवृत्ति प्रदान गरिएको विद्यालयका सञ्चालक सन्ध्या गुरुङले बताइन् । ‘पहिलो वर्ष हामीले ६ जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेका थियौं, अहिले निरन्तरता दिँदै ११ जना भएका छन् । यो छात्रवृत्ति निरन्तर रहने छ,’ उनले भनिन् ।
रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र अशक्त बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कार्यक्रमकै अवसरमा विद्यालयले निर्वाचित जनप्रतिनिधिलाई सम्मान, ५ जना विज्ञान प्रोजेक्टका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन सहितको सम्मान र चार जना सामाजिक सेवक विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले सम्मान र छात्रवृत्ति प्रदान गर्दै गाउँपालिकास्तरबाट पनि यस्ता उत्कृष्ट कार्यक्रमहरूबारे योजना बनाउने बताए । पालिकामा करिब २ दर्जन सामुदायिक विद्यालय, ८ वटा मदरसा र २८ वटा निजी विद्यालय भए पनि त्यसमध्येका केही विद्यालय पालिकाकै नमूना विद्यालयको रूपमा रहेको बताए ।
पालिकावासीले दोस्रो कार्यकालका लागि पनि मलाई छनोट गरेकोले यस कार्यकालमा शिक्षामा अधिकतम लगानी गरी जीवनस्तर उकास्ने गरी प्राथमिकताका साथ काम गर्ने बताए । कार्यक्रममा मायादेवी वडा नम्बर ८ का निर्वाचित वडाअध्यक्ष चोक बहादुर थापा तथा वडा सदस्यहरूलाई समेत बधाई र सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij