२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

शुक्रवार , जेठ २७, २०७९

रामपुर, २७ जेठ ।
रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ । बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ ।

छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताए । छानबिन समितिले बिरामी नै बोकेको हो भन्ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिए । सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उनले निर्देशन दिए ।

अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट चार यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारवाहीमा परेको थियो । भाडामा यात्रु बोकेको शंका लागेपछि सोधपुछ गर्दा कारबारहीमा परेको हो । पहिलो पटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो । प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादर भन्दा सो भाडादर बढी हो ।

किसानलाई हाते ट्र्याक्टर 

रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिका भित्रका ७१ ले हाते ट्र्याक्टर (मिनी टिलर) अनुदानमा बुझेका छन् । 

खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताइन् । आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्र्याक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए । 

उनले भने, “पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकहरूले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुपर्यो, यान्त्रिकीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।”

ठूला ट्र्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन् । हाते ट्र्याक्टर ग्रामीण भेगमा खेतबारी खनजोत गर्न उपयुक्त छ । रासस