
शुक्रवार , जेठ २७, २०७९
भैरहवा, २७ जेठ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी रुपन्देहीले बिहीबार भैरहवामा चक्काजाम गरेको छ । शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले वर्तमान सरकारले खाद्यान्न र पेटोलियम पदार्थको निरन्तर मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको बताए । उनले सरकारले मूल्यवृद्धि फिर्ता नलिए अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य विवेक भण्डारी, जिल्ला सदस्य तथा सिद्धार्थनगर कमिटी अध्यक्ष सुनिल खनाल, जिल्ला सदस्य के.एल. पाण्डे, भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपाने, नगर कमिटी संगठन विभाग प्रमुख मिलन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो । तर एक हप्ता नबित्दै निगमले पेट्रोल ८ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
त्यस्तै मट्टितेल र डिजेलमा १२ रुपैयाँले मूल्य वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १७८, मट्टितेल र डिजेलको मूल्य १६५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij