
शुक्रवार , जेठ २७, २०७९
तिलोत्तमा, २७ जेठ ।
लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतिमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृति अक्षयकोष स्थापना गरेको हो ।
समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिए । भौतिक पूर्वाधारले मात्र शैक्षिक विकास नहुने भन्दै उनले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्ने बताए । उनले अक्षयकोष स्थापना भएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गर्दै यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने बताए ।
समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताइन् । स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हदसम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताइन् ।
कार्यक्रममा समाजका सल्लाहकार दिपक प्रधानले समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले पठाएको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा रुपन्देहीका पूर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक थैवले यो कार्यले अतिविपन्न विद्यार्थीलाई विद्यालयसम्म ल्याउन उत्साह दिने बताउँदै रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij