२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

मंगलवार , जेठ २४, २०७९

देउखुरी, २४ जेठ ।
वन–जंगलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । 

त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समूहको अध्यक्ष उमा रावतले बताइन् । विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई दुना, टपरी बनाउने तालिम दिएको थियो । तालिमपश्चात १० महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन् ।

“तालिम सकिएसँगै महिलाले समूह गठन गर्दै दुना, टपरी उद्योग घरेलुमा दर्ता गर्यौं, उद्योग दर्तापछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुना, टपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो, सोहीबाट उत्पादन गर्दै आएको थियौँ” रावतले भनिन् । 

मेसिनको दुना टपरी हातले बनाएको जस्तो भरपर्दो नहुने भएकाले विगत एक वर्षदेखि हातले बनाउन थालेको उनले बताइन् । उनका अनुसार पछिल्लो समयमा दाङमा दुना टपरीको माग बढेको छ । “जिल्लाको घोराही, तुलसीपुर र लमही बजारबाट नियमित माग आउन थालेको छ”, उनले भनिन्, “बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन्, बाह्रै महिना यसको माग हुने गरेको छ ।” 

चाडपर्व, पूजा, बिहे तथा मृत्यु संस्कारमा पनि हरियो दुना टपरीको माग हुने गर्दछ । तर, धार्मिक कार्य तथा अन्य विशेष समयमा माग धान्न समस्या हुने गरेको रावतले बताइन् ।

एउटा टपरीको मूल्य रु चार कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराइन् । उनका अनुसार हरियो दुना टपरीको माग गर्नेका लागि हातले तयार गरिन्छ । मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहको सदस्य सरस्वती घिमिरेले बताइन् । रेडियोबाट महिला पनि उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको उनले बताइन् । 

“सुरुमा बजारमा कहाँ बिक्री गर्ने भन्ने अन्योल थियो । चाट, पानीपुरी पसल र होटलमा सम्पर्क गरौँ । बिक्री गर्न धेरै गाह्रो भएन । उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको छ”, उनले भनिन्, “पहिले घर खर्चका लागि दुना टपरी बनाउने काम गर्दे आएका थियौ । तालिम पाएपछि भने व्यवसायिक रुपमै अगाडि बढेका छौँ ।’’ दुना, टपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उहाँको भनाइ छ । 

खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजारसम्म आम्दानी गर्ने गरेको घिमिरेले बताइन् । “पहिले चुरा टिका किन्न समेत श्रीमानसँग माग्नुपथ्र्याे, तर अहिले आफै कमाउन थालेपछि सहज भएको छ”, उनले भनिन् । महिला दिदीबहिनीसँगै मिलेर दुना, टपरी बनाउने काम गर्दा आम्दानीका साथमा रमाइलोसमेत हुने गरेको उनले बताइन् । “पहिले बसेर दिन यत्तिकै बित्ने गरेका थिए, अहिले आम्दानी हुने काम गरेका छौ, आम्दानी भएपछि आफुले किन्न चाहेका सामग्री सजिलै किन्न सक्छौँ” घिमिरेले भनिन् । 

प्लास्टिकका सामान विस्थापित गर्न र स्वस्थ्य समाज निर्माण गर्न थालेको सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ । 

घोराही उपमहानगरको उपप्रमुख हुमा डिसीले महिलाले गरेको कामलाई सम्मान गर्दै उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन् । प्लास्टिकका सामग्रीले स्वास्थ्यलाई पार्ने नकारात्मक असरविरुद्ध महिलाले गरेको का नमूनायोग्य रहेको उनले बताइन् । 

डिसीले जिल्लामा अन्य महिलाले पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरेकी छन् । दुना, टपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा रहेको छ । रासस