
मंगलवार , जेठ २४, २०७९
भैरहवा, २४ जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीको आयोजनामा आर्थिक विधेयक २०७९ को प्रावधानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत भएपछि आर्थिक विधेयकबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा आ.व. २०७९/०८० को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि विनियोजन गरिएको बजेट, अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत, आर्थिक विधेयक, २०७९ द्वारा परिवर्तित व्यवस्थाहरु, करको दायरामा आउनेलाई कर, शुल्क तथा ब्याज मिनाहा, आय विवरणको सीमा, कोरोना छुट सहुलियत, कारोबारमा आधारित कर, सहकारीको आयमा लाग्ने कर, मिसम्याच स्किम सुविधा, विद्युतीय सेवा कर, सूचना प्रविधिमा आधारित कारोबारलाई प्रोत्साहन, प्राइभेट फर्म तथा कम्पनी नविकरण शुल्क मिनाहा, खोप तथा तरल अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट सहुलियत, ढुवानी साधनको भाडावापतको खर्च कट्टी सम्बन्धी व्यवस्था, संयुक्त उपक्रम करदातालाई वक्यौता मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क ईजाजतपत्रवालालाई बक्यौता छुटसम्बन्धी व्यवस्था, प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर, अन्य संशोधित व्यवस्थाहरु, विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ) जारी गर्ने सम्बन्धमा तथा बिजक लिने प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले जोखिम, सूचना, गुनासोका आधारमा कार्यालयले अनुगमन गर्दै आएको बताए । उनले सामान खरिदपछि आफूले तिरेको रकमको बील खोज्ने पद्दतिले धेरै समस्याको समाधान हुने बताए । उनले ई–बिलिङले व्यवसायीहरु आतंकित हुनु नपर्ने बताए । उनले आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत ५० हजार करदाता रहेको बताए । उनले भने, ‘आफ्नो उद्योग व्यवसायलाई उपयुक्त हुने सफ्टवेयर राख्नुहोस्, कम्युप्टर ब्याकअपको राम्रो व्यवस्था गर्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले राज्यले आयातलाई निरुत्साहित गरेको र प्रतिफलको पनि आशा गरेको बताए । उनले आयातलाई निरुत्साहित गरे राजस्व घट्ने बताए ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्य, महासचिव विजय पाण्डे, कार्यसमिति सदस्य पल्लवी न्यौपाने, गोपाल भण्डारी, हरिश सेठिया, परामर्शदाता पशुपति प्रसाद कान्दु, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष ऋषिराम पाण्डेय, व्यवसायी मदन पौडेल, कुरबान अली, संजय कुमार केशरी लगायतले जिज्ञासा राखेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत रामहरि मरासिनीले आर्थिक विधेयक, २०७९ का प्रावधानहरुबारे प्रस्तुतीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij