२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै विरोध   

शनिवार , श्रावण १०, २०७७


बुटवल, १० साउन  । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा नम्बर १ को राजकुडा सामुदायिक वन भित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । 

स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट गत दुई आर्थिक वर्षमा गरी लाखौं रुपैयाँ बजेटमा कभर्ड हल बनाइएको भन्दै स्थानीय रुष्ट बनेका छन् । वडामा सिंचाई कुलो, सडक ग्राभेल जस्ता प्राथमिक आवश्यकता हुंदाहुंदै कभर्ड हलमा ठूलो बजेट पारेर राज्य कोष दुरुपयोग गरिएको स्थानीय गौरिकान्त बन्जाडेले बताए । कभर्ड हललाई वहुउद्देश्यीय सामुदायिक भवन भनेर वजेट पार्ने गरिएको उनले बताए । 

त्यस्तै राजकुडा वन भित्रै बनाइएको सुपा देउराली मन्दिरमा समेत हरेक वर्ष बजेट विनियोजन हुंदै आएकोमा पनि स्थानीयले विरोध जनाएका छन् । ‘गाउँलेको माग र प्राथमिकता एकातिर छ,वजेट कभर्ड हल र मन्दिरमा खर्च भइराखेको छ’–बन्जाडेले भने–‘गाउँपालिकाको वजेट वडा अध्यक्षको रुचिका योजनामा मनोमानी खर्च हुने गरेको छ ।’ 

मन्दिरका लागि पनि ५० लाख रुपैयाँ भन्दा बढी वजेट खर्च गर्नेगरी वर्षेनी वजेट विनियोजन हुने गरेको छ । धार्मिक आस्थाका लागि सामान्य मन्दिर बनाएपनि हुने ठाउँमा अनावश्यक रुपमा ठूलो रकम खर्च देखाएर सरकारी वजेट दुरुपयोग भएको बन्जाडेले बताए । 

जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी पौडेलले सामुदायिक वनले वन उपभोक्ता समितिको कार्यालय भवनका लागि स्वीकृति लिएको बताए । ‘सामुदायिक वनको कार्यक्रमका लागि भवन बनाउन स्वीकृति दिइएको हो,खेलकुद गतिविधि समेत गर्ने गरी कभर्ड हल बनाउन पाइँदैन’–पौडेलले भने–‘स्थानीयबाट निवेदन आएपछि छानवीन गर्छौं ।’ 

वडा अध्यक्ष तेज बहादुर बस्नेतले वडावासीका लागि खेल गतिविधि सञ्चालन गर्न कभर्ड पनि आवश्यक पर्ने भएकाले बहुउद्देश्यीय सभा हलको स्वीकृति लिएर ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताए । कभर्ड हलमा वन उपभोक्ताको कार्यालयसहितका संरचना बनाइने बताउँदै उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मन्दिरका लागि बजेट विनियोजन नभएको प्रष्ट पारे ।