२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

सिद्धार्थनगर नगरपालिकालाई सिद्धार्थ उवा संघको १० बुँदे सुझाव

मंगलवार , जेठ १७, २०७९

भैरहवा, १७ जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी तथा वडाअध्यक्षहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघले सोमबार भैरहवामा स्वागत तथा छलफल कार्यक्रम गरी जनप्रतिनिधिहरुलाई स्वागत गर्दैै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख खान संघका पूर्व उपाध्यक्ष समेत हुन् । यसैबीच सिद्धार्थनगरको विकासका लागि जनप्रतिनिधिहरुसमक्ष १० बुँदे सुझाव प्रस्तुत गरिएको संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।

यी हुन् सुझावहरु

– भैरहवामा राजनीतिक दलहरुले गर्ने आमसभा, संघ–संस्थाहरुले गर्ने अन्य वृहत आयोजना कार्यक्रम गर्नका लागि बहुउद्देश्यीय मण्डपको निर्माण गर्नुपर्ने । 

– सिद्धार्थनगर नगरपालिका एवं बुद्धभूमि लुम्बिनीको पर्यटकीय विकासको लागि भैरहवा लुम्बिनी सडकखण्डमा मेट्रो ट्रेनको सञ्चालनको लागि अन्य सम्बन्धित पालिकासँगको समन्वयमा सम्भाव्यता अध्ययन गरी योजना बनाउनुपर्ने । 

– नेपालमै स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहियाको सुन्दरीकरण,  पर्यटकीय पहिचानलाई व्यवस्थापन तथा पर्यटकहरुको सेवा सुविधाको लागि बेलहिया नाका एवं नगरभित्रका मुख्य चोकहरुका स्तरीय शौचालयको निर्माणको गरिनुपर्ने । 

– सिद्धार्थनगर नगरपालिकाभित्रको पार्किङ्गलाई व्यवस्थित गरिनुपर्ने साथै भविष्यको लागि जग्गा खरिद गरी आधुनिक एवं व्यवस्थित पार्किङ्गको व्यवस्थापन गरिनुपर्ने ।  

– नगरको सौन्दर्य तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सिद्धार्थनगरभित्र चारैतिर छरिएर सञ्चालनमा रहेका मासु पसलहरुलाई व्यवस्थित गर्न आधुनिक सेवा सुविधासम्पन्न बधशालाको निर्माण गरिनुपर्ने । साथै डण्डा कोरिडोरलाई अगाडी बढाइ सम्पन्न भएमा भैरहवाको सुन्दरीकरणमा योगदान पुग्नेछ । 

– छाडा चौपायाको कारण हुन सक्ने नागरिकहरुको सम्भावित दुर्घटनामा कमि ल्याउन र नगरको सुन्दरीकरणको लागि नगरभित्र देखिने छाडा चौपायाको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने । 

– विगत लामो समयदेखि नगरमा देखिदै आएको फोहर व्यवस्थापनको समस्यालाई समाधान गर्नको लागि फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्रको स्थापना गर्नुपर्ने । 

– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी जाने मुख्य बाटो भैरहवा (बुद्धचोक)–लुम्बिनी सडकखण्डमा तथा नगरभित्र यत्रतत्र सञ्चालनमा रहेको अटो ग्यारेजहरुको व्यवस्थापन गर्न नगरपालिकाले अटो भिलेजको लागि सि.न.पा.–९ दुमदुमवामा आफ्नो योजनामा राखेको अटो भिलेजको अवधारणा अनुरुप पूर्वाधार विकासमा समेत लगानी गरी अघि बढाएकोले नगरभित्र छरिएर रहेका तथा लुम्बिनीरोडमा सञ्चालनमा रहेका अटो ग्यारेजहरुलाई स्थानान्तरण गर्नुपर्ने । 

– सिद्धार्थ उद्योग वाणिज्य संघको संयोजन तथा निजी क्षेत्रको सहकार्यमा नगरको सुरक्षाको लागि जडान गरिएको सीसीटीभी क्यामेराको बजेट अभावमा मर्मत हुन नसकेकोले सोको लागि बजेट विनियोजनसहित नगरका अन्य क्षेत्रहरुमा पनि थप क्यामेरा जडान गर्नुपर्ने । 

– विगत लामो समयदेखि विविध कारणले सिद्धार्थनगर नगरपालिका कार्यालयमा व्यवसायिक कर तिर्न छुट भएका उद्योगी व्यवसायीहरुलाई व्यवसाय दर्ता, कर चुक्ता गर्नका लागि समय थप तथा लाग्ने शुल्क तथा जरिवानामा छुटको व्यवस्था गर्नुपर्ने ।