
मंगलवार , जेठ १०, २०७९
भैरहवा, १० जेठ । सुनको सट्टा गोल्डेन कलरका फलामका ढिक्का दिई ठगी गर्ने दुईजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षिय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गाउँपालिका–३ स्थायी ठेगाना हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१ हात्तीबजार का ३७ वर्षिय नविन भन्ने देव बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार गत जेठ ५ गते रुपन्देहीको सैनामैना नगरपालिका–१० शितलापुरस्थित होटलमा दिउँसो बुटवल उपमहानगरपालिका–१७ का ४० वर्षिय धन सौमैलाई धन बहादुर र देव बहादुरले तपाइको पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी होटलमा बोलाएका थिए । उनीहरुले सौमैलाई विभिन्न प्रलोभनमा पारी झुक्याएर झट्ट हेर्दा सुन जस्तो देखिने गोल्डेन कलर लगाएको फलामको ढिक्का ९ थान (ठुलो ढिक्का–१, सानो ढिक्का–८) दिई सौमैले हातमा लगाएको सुनको चेन (ब्रासलेट) फुत्काएर लगी फरार भएको डीएसपी पौडेलले जानकारी दिए ।
महिलालाई ठगी गरी फरार रहेका धन बहादुर र देव बहादुरलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले जेठ ७ गते दिउँसो कञ्चन गाउँपालिका–१ स्थित हातीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुबाट सुन जस्तो देखिने पहेलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान (ठुलो ढिक्का–१, सानो ढिक्का–८), विभिन्न कम्पनीका मोबाईल सेट ४ थान, गोल्डेन रंगसहितको बट्टा १ थान र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोईन्ट सुनको डल्ला बरामद गरिएको डीएसपी पौडेलले बताए ।
ठगीसम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij