
रोजगारीको लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने दावी
शनिवार , कार्तिक २९, २०७७
बुटवल, २९ कार्तिक ।
‘समृद्ध प्रदेश खुशी जनता’ मुल नारा अघि सारेको लुम्बिनी प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र व्यवसायको क्षेत्रको प्रबद्र्धन गर्दै ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । प्रदेश सरकारका अनुसार विशेष गरी विदेशबाट रोजगारी गुमाई आएका कोभिड–१९ बाट प्रभावित समुदायलाई लक्षित गरि करिब १ अर्ब ५० करोड बराबरको नयाँ रोजगारी लक्षित बजेट तर्जुमा गरिएको हो ।
रोजगारीका लागि थुप्रै सम्भावना हुँदाहुदै पनि सुशासन र उचित ब्यबस्थापनको अभावमा निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा बेरोजगारी बढ्दै गएकोले रोजगार लक्षित कार्यक्रम अघि बढाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
उक्त लक्ष्य हासिल गर्नका लागि सुचना सम्प्रेषण, तालिम, प्रशिक्षण, बिमा तथा सुरक्षा प्रबन्ध लगायतका विषयमा आवश्यक सहजीकरण गरी रोजगारदातालाई उत्पे्ररित गर्ने, प्रदेशका १ सय ९ स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम संचालन गर्ने र कृषि, पर्यटन, उद्योग र व्यवसायका क्षेत्रमा रोजगारी सिर्जना गर्न आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने उद्देश्यका बजेट तर्जूमा गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका अनुसार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रोजगारी लक्षित कोभिड विशेष कृषि कार्यक्रमका लागि ६५ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत द्वन्दपीडित रोजगारका लािग ५० करोड, उद्योग विकास कोष लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै सहकारी विकास कोषका लागि २० करोड, कृषिकर्मी रोजगार प्रबद्र्धन कार्यक्रमका लागि ६ करोड, वनमा आधारित लघु तथा मभौला उद्योग प्रबद्र्धनका लागि ४ करोड ८० लाख विनियोजन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताए ।
प्रदेश सरकारद्धारा तयार पारिएको प्रदेश रोजगार पोर्टलको शुभारम्भ तथा संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले वर्तमान विषम परिस्थितिमा नयाँ प्रयोग र महत्वाकांक्षी कार्यक्रम भए पनि लुम्बिनी प्रदेशमा रोजगारी अभिवृद्धि गर्ने सवालमा प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरेका छन् ।
प्रदेश सरकारको रोजगारी लक्षित कार्यक्रमलाई सफल बनाई रोजगारी र अवसरको सिर्जना हेर्न लुम्बिनी प्रदेश जाउँ भन्ने वातावरण बनाउन संचार क्षेत्र लगायत सबैको भुमिका महत्वपुर्ण हुने मन्त्री केसीको भनाइ थियो ।
सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले रोजगारीका थुपै्र अवसर भएपनि आम मानिसमा बेरोजगारीको चर्चा मात्र हुने गरेको उल्लेख गर्दै रोजगारीका क्षेत्र पहिचान गर्न र रोजगारदातासँग समन्वय गर्न प्रदेश सरकारले सघाउने बताए । आयोगका सदस्य विष्णु प्रसाद शर्मा रोजगारी सिर्जना गर्ने सवालमा प्रदेश सरकारको लक्ष र उद्देश्य पुरा गर्न आवश्यक पर्ने प्रकृया र पद्धतीका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सहभागि संचारकर्मीहरुले प्रदेश सरकारको नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रम सफल बनाउन प्रचारात्मक अभियान संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij