
सोमवार , जेठ ९, २०७९
भैरहवा, ९ जेठ ।
सानैदेखि समाजसेवा तथा सामाजिक क्षेत्रमा रुची राख्ने भैरहवाको विद्यार्थी आन्दोलनको अग्रमोर्चामा देखिने नाम हो लक्ष्मी केसी । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ४ स्थित पुजामा जन्मिएर ठुलाबेसी उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्र्तीण गरेपछि रुपन्देहीको भैरहवामा स्थाउी बसोबास गर्दै आएकी केसी विद्यार्थी राजनीतिमा विभिन्न कमिटीहरु पार गर्दै हाल अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य तथा महिला विभाग उपप्रमुख छिन् । विद्यार्थी तथा पार्टीको अग्रमोर्चामा मात्र नभइ थुप्रै सामाजिक संस्थाहरुको जिम्मेवारी समेत सम्हाल्दै आएकी केसी हाल लायन्स क्लब अफ भैरहवा लुम्बिनीको अध्यक्ष हुन् ।
आफूले आर्जन गरेको मुनाफालाई समाजमा रहेका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ अरु बेला पनि विभिन्न तरिकाले सेवा गर्दै आएकी केसी आफ्नो जन्मदिन अझै विशेष बनाउन कहिले बिरामीलाई सहयोग गरेर, कहिले विद्यार्थीलाई सहयोग गरेर मनाउँँदै आएको बताउँछिन् ।
तर यसपटक भने उनलाई एउटा घटनाले छोयो ,त्यो घटना हो स्थानीय निर्वाचनपछिको । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को निर्वाचित टीम विजयी उत्सव मनाउने क्रममा दुर्घटनामा पर्यो । खुसीयाली साट्न नपाउदै गाउँ दुःखमा परिणत भयो । धेरै मजदुरी गरी दैनिकी चलाउने परिवार अहिले अस्पतालको सैयामा छन् । उपचार खर्च बढ्दै गइरहेको छ । सरकारले स्वास्थ्य बीमा लागू गरे तापनि ती घाइतेमध्ये गाडी चालकबाहेक कसैको पनि स्वास्थ्य र जोखिम बीमा छैन । त्यसैले पनि निर्वाचित भएर खुसी साटासाट गर्नुको साटो आर्थिक भार र चिन्ता ले गाउँ थलिएको छ ।
यो घटनाले सवारीसाधनको बीमा अनिवार्य भए जस्तै मानिसको पनि जीवन बीमा आफ्नो ल्याकतले सकेअनुसार र स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागि अतिविपन्न परिवारलाई नगरपालिकाद्वारा निर्मित वडा नम्बर ८ मा नगर आवासमा बसोबास गर्ने तीनवटा घरपरिवारको स्वास्थ्य बीमा गरेको बताइन् । नवनिर्वाचित वडा सदस्य प्रकाश पाण्डे र बीमा अभिकर्ता भवानी अर्यालको उपस्थितिमा १३ जनाको बीमा भएको छ । आफू लामो समयदेखि जीवन बीमाको क्षेत्रमा पनि काम गर्दै आएको अनुभवले पनि बीमालाई हेर्ने दृष्टिकोण र जोखिम बहनको लागि महत्वपुर्ण रहेको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij