
सोमवार , जेठ ९, २०७९
भैरहवा, ९ जेठ ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनीले थालेसेमियाबाट ग्रसित ४ वर्षिय बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । क्लबले आइतबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका आशिक अली अन्सारीको उपचारका लागि २५ हजार रुपैयाँ प्रदान गरेको हो । त्यस्तै भैरहवा निवासी युवा सुरज भण्डारीले बालकको उपचारमा सहज होस् भन्ने उद्देश्यले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर ६ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् ।
त्यसै गरी लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले बालकको उपचारका लागि रु. १ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
बालरोग विशेषज्ञ डा. राजु काफ्लेले आशिकको परिवारले मजदूरी गरी जीविकोपार्जन गर्दै आएको बताए । उनले यो परिवारले पहिलो र दोस्रो बच्चा समेत गुमाइसकेको बताए । बालकको उपचारका लागि विगत केही समयदेखि सहयोग जुटाउँदै आएको उनले बताए । उनले भने, थालेसेमिया रगतको कमी हुने क्यान्सर सरह हो, यसको स्थायी उपचार बोनम्यारो प्रत्यारोपण गर्नु नै हो, जसका लागि भारतमा करिब २०–२५ लाख रुपैयाँ पर्छ, १० वर्षभित्र बोनम्यारो प्रत्यारोपण गरिसक्नुपर्छ । बिरामीको शरीरमा रगत घट्दै जाने भएकाले समयसमयमा रगत दिदै यसको उपचार हुने उनले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । नगरप्रमुख इस्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष तथा वडासदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खानले भैरहवालाई उत्कृष्ट शहर बनाउने बताए । उनले नगरवासीको साथ र सहयोगले सम्पूर्ण काममा सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘राम्रो कामका लागि राजनीति गनुहुँदैन, केही कमीकमजोरी भए जानकारी गराउनुपर्छ ।’
नगर उपप्रमुख अधिकारीले नगरवासीको सल्लाह, सुझाव आवश्यक रहेको बताइन् । उनले विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै अगाडी बढ्ने बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगरको विकासका लागि जनताको अमूल्य मतले निर्वाचित भएर आएका छौं, जनताकै लागि काम गर्छौ ।’
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट डिष्ट्रि«क गभर्नर नवराज न्यौपानेले लायन्सले सेवाको हात अगाडी बढाएको बताए । उनले लायन्ससँग जोडिदा व्यक्तित्व र सकारात्मक सोचको विकास हुने बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक केबिनेट टे«जरर विनोद खरेलले लायन्स क्लबले सिद्धार्थनगर नगरपालिकासँग सहकार्य गर्दै अग्रपंक्तिमा रहेर जनताको सेवामा लागिपरेको बताए ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनी वर्ष २०२१/२२ की अध्यक्ष लक्ष्मी केसीले क्लबले वर्ष २०२१/२२ मा हालसम्म १४ वटा कार्यक्रम गरिसकेको बताइन् । उनले आफ्नो कार्यकालको अन्तिममा जनप्रतिनिधिहरुलाई पुनः सम्मान गरिने बताइन् । सिद्धार्थनगरको विकासका लागि एकजुट भइ अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लायन्स क्लब अफ भैरहवा लुम्बिनीद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट डिष्ट्रि«क गभर्नर नवराज न्यौपाने, फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम प्रधानांग, डिष्ट्रिक केबिनेट सेक्रेटरी सन्दिप कसौधन र डिष्ट्रिक केबिनेट टे«जरर विनोद खरेललाई सम्मान गरिएको थियो ।
क्लबकी अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, डा. आरिफ हुसेनको ध्वजा अभिवादन, रवि कुमार रौनियारको स्वागत तथा ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij