
बिहिवार , कार्तिक २७, २०७७
तिलोत्तमा, २७ कार्तिक ।
चौतारी फिल्मस्को प्रस्तुतिमा पञ्चेबाजामा सजिएको चोखो मायासंगै लाउला बोलको गीत सार्वजनिक भएको छ । कोरोना कहरकोबीचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन् । पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमला पोख्रेलसंग सुमधुर आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले पञ्चेबाजाको कोसेली दर्शक सामु युट्युबमार्फत पस्केका हुन् ।
बुटवलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका निवर्तमान अध्यक्ष दिपक गरौचा मगरले प्रोजेक्टर अन गरी भिडियो प्ले गरेर विमोचन गरे । प्रमुख अतिथि समेत रहेका गरौचाले लोक संगितको क्षेत्रमा एउटा सर्जकले ईट्टा थप्ने काम गर्नुभएकोमा धन्यवाद दिदै गीत एकदमै राम्रो बनेको र दर्शकको माया छिट्टै पाउनेमा आफु ढुक्क रहेको बताए ।
गायक तथा सर्जक चन्द्र महतकै लय तथा शब्द रहेको सो गीतलाई जुजु गुरुङले एरेन्ज गरेका छन् । बुटवलदेखि पश्चिमको एक रमणीय स्थानमा छायांकन गरिएको एक सच्चा प्रेमी–प्रेमिकाको बेदना भरिएको सो गीतलाई प्रदिप ज्ञवालीले कोरियोग्राफी गरेका छन् भने छायांकन तथा सम्पादन र दृश्य निर्माण एसआर मुभिजका शोभाखर पन्थले गरेका छन् । ड्रोनमा शिव बस्यालले सघाएका छन् भने गीतको श्रृंगार स्वस्तिका पन्थले गरेकी छन् ।
प्रेमभित्रको वेदनालाई स्थान दिइएको सो गीतमा बिहे अघिको प्रेम सफल नभएपछिको मार्मिक दृश्य देखाइएको छ । गीतमा प्रमुख भूमिकामा पछिल्लो समय चर्चा कमाएका कलाकार तथा मोडल सुरज पन्थ, बेबो आचार्य, अविक गैरे लगायतको अभिनय रहेको छ । छुटेका प्रेमी प्रेमिकाको रुपमा सुरज र बेबो देखिएका छन् । ‘चोखो माया’ मनमा जति पीडा भए पनि पञ्चेबाजामा नाच्ने खालको एउटा गीत बनेको छ जुन गीतले मंसिरको महिनामा बजार तताउने अनुमान गरिएको छ ।
यस अघि फुलको बोटैमा फुलको माला गासन लगायतको गीतमा आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले आफ्ना ‘काफल पाक्यो काचो’, ‘ढुकढुकी धड्कन’ लगायतका गीत सुनाउँदै आफ्नो सानै देखिको चाहना पुरा भएको र लोकसंगितलाई आफुले सधै माया गरेको बताए ।
विमोचन कार्यक्रममा स्पान गु्रप अफ कम्पनीका एमडी राजेश कुमार थैव, नागरिक केबल लिंकका सीईओ मिलन थापा, स्पानका सचिव मधु ढकाल, क्रिपर इण्टरनेशनल मार्केटिङ्गका डाइरेक्टर सुन्दरकुमार बर्मा, नेपाल डोरी तान संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी नवराज खरेल, मेरी गोल्ड होटलका संचालक विष्णु पौडेल क्षेत्री, भैरव बहादुर क्षेत्री, चौतारी फिल्मस्का संचालक एवं गीतकार शिव सुवेदी लगायतले बोल्दै गीतको सफलताको शुभकामना दिएका थिए ।
आफू २० वर्षको उमेरमा भारतीय सेनामा हुदै देखिबाट गीतसंगितप्रति रुची भएका चन्द्र महत १६ वर्ष सेवामा रही विगत १२ वर्षदेखि व्यवसायीका रुपमा अघि बढ्दै छन् । आफुभित्र लुकेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले लोक संगीतको क्षेत्रमा एउटा कोसिस गरेको बताउने महतले यो क्षेत्रलाई नियमित रुपमा अंगाल्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij