
मंगलवार , कार्तिक २५, २०७७
भैरहवा, २५ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । मंगलबारबाट वडा नम्बर ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ ।
वडा नम्बर ९ को दक्षिणटोलमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले उद्घाटन गरे । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीति अनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भइरहेको छ ।
हालसम्म तिलोत्तमाका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीति अनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।
आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोप लगायतका सेवाहरु उपलब्ध छन् । कार्यक्रममा वडाध्यक्ष नारायण न्यौपाने, स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, नेत्र वन लगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij