
सोमवार , कार्तिक २४, २०७७
बुटवल, २४ कार्तिक ।
कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषि उपज विक्री गरी दैनिकी चलाउने मानिसहरुको व्यापार अहिले संकटमा परेको छ । खासगरी राजमार्गहरुको छेउछाउमा बसी मौसम अनुसारको फलफूल र तरकारी विक्री गर्ने सडक व्यापारीहरुको व्यापार कोरोना कहरका कारण अहिले ठप्प जस्तै भएको छ ।
कोरोना महामारीका कारण लामो समयपछि सार्वजनिक यातायातका साधनहरु सुचारु भएपनि राजमार्ग छेउछाउमा केरा बेच्ने, पोलेको मकै विक्री गर्नेहरु र तरकारीको व्यापार गर्नेहरुको पेशा भने आजकाल संकटमा परेको हो । राजमार्ग भएर आवतजावत गर्ने मानिसहरुको स्वास्थ्य सुरक्षाको कारण देखाई चालकहरुले जहाँ पायो त्यहीं सवारी रोक्न छोडेपछि सडक व्यापारीहरुलाई थप समस्या परेको हो ।
राजमार्ग छेउमा बसेर केरा, सुन्तला लगाएतका फलफुल र तरकारी विक्री गरी आफ्नो दैनिकी चलाउदै आएका साना सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा ८० प्रतिशत व्यापार घटेको बताउँछन् । दैनिक ७-८ हजारसम्म आम्दानी गर्ने राजमार्ग छेउछाउका व्यापारीहरु अहिले २-३ हजारमा नै चित्त बुझाउनु परेको बताउँछन ।
अहिले आएर व्यापार घटेपछि लगानी गरेको मुल्य पनि उठाउन नसक्ने अवस्था आएको व्यापारीहरुको गुनासो छ । व्यापार कम हुन थालेपछि कतिपय साना व्यापारीहरुले त पेशा नै छाडेका छन् । राजमार्ग छेउका होटल सञ्चालकदेखि यस्ता साना सडक व्यापारीहरु लामो समयसम्म ग्राहकको पर्खाइमा हुन्छन् ।जसका कारण सडक छेउ छाउमा राखेर व्यापार गर्ने कृषि उपजहरुको मुल्यमा समेत गिरावट आउन थालेको छ । राजमार्ग आसपासमा विक्री गर्ने धेरैजसो कृषिजन्य उपजहरु स्थानीय किसानहरुले नै उत्पादन गरेका हुन्छन् ।
हुन त राजमार्ग आसपासमा विक्री गर्ने सामानहरुको मुल्य अत्यन्त महंगो भएको गुनासो ग्राहक र यात्रुहरुले नगरेका होइनन् । तर पनि कतिपय यात्रुलाई त सवारीसाधन पसल अगाडी नै लगेर रोकेपछि नकिनी सुखै छैन । अरु विकल्प नहुँदा महंगो मुल्य तिर्न यात्रुहरु बाध्य हुने गरेको गुनासो पनि यात्रुहरुले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij