
बिहिवार , बैशाख १५, २०७९
भैरहवा, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वउप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिद्धार्थनगर नगरपालिकामा एमालेको जीतलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । उनले एमालेका नेता कार्यकर्तासँग अनगिन्ती एजेण्डा भएको र जनताले एमालेलाई पत्याउने भएकाले जीत सुनिश्चित भएको बताए ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले बिहीबार भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेको नेतृत्वमा सिद्धार्थनगरलाई आधुनिक नगरको रुपमा विकसित गर्ने बताए । उनले भने, ‘हिजोका दिनमा राम्रा काम गर्यौ भन्ने बताउँछौं, त्यसलै जनताले हाम्रो साथ दिन्छन् ।
’एमाले नेतृत्वको सरकारले धेरै काम गरेको कुरा जनतालाई राम्रोसँग जानकारी भएको उनको भनाइ थियो । बेलहिया–बुटवल ६ लेन सडक, भैरहवा–लुम्बिनी ४ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एमालेको नेतृत्वमा बनेको पौडेलले बताए । वर्तमान सरकारले विमानस्थलको दोस्रो चरणको काम रोक्न खोजे पनि रोक्न नसक्ने उनले बताए ।
उनले भने, ‘आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट रंगशाला, बेलहियामा एकीकृत भन्सार चेकपोष्ट (आइसीसी) एमालेकै अग्रसरता र पहलकदमीमा बन्दैछ, त्यसैले त हामी जनताको विश्वास जित्छौं । ’ सिद्धार्थनगरका जनताले एमालेका नेता कार्यकर्ताले भनेको कुरा पत्याउने उनको भनाइ थियो ।
उनले भने, ‘सिद्धार्थनगरमा निर्वाचन जितिसकेका छौं, उत्साह–जाँगरका साथ अगाडी बढ्छौं, अर्कोपटक हाम्रा प्रतिष्पर्धीहरु एमालेसँग गठबन्धन गरेर पनि जित्न नसकुन् र उम्मेदवार समेत पाउन नसक्ने गरी निर्वाचन जित्न खोजिरहेका छौं । ’
एमालेकोतर्फबाट सिद्धार्थनगरको मेयर र उपमेयरका उम्मेदवार अन्य पार्टीको उम्मेदवारसँग तुलना हुनै नसक्ने उनले बताए । पार्टीले सारेको उम्मेदवार योग्य रहेको भन्दै नेता पौडेलले एमालेकाबीच कुनै मनमुटाव नरहेको बताए ।
नेपाली कांग्रेसको अवस्था कमजोर रहेकाले कांग्रेस एक्लै निर्वाचन लड्न नसकेको उनले बताए । उनले भने, ‘स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएको छ, एक्लाएक्लै गयौं भने निर्वाचन एमालेले जित्छ, एमालेले जित्छ भन्ने प्रधानमन्त्रीको भनाइ सत्य हो ।’ गठबन्धन एमालेका लागि पानीको फोका भएको उनले बताए ।
गठबन्धनका अगाडी एमालेको विजयी यात्रा अगाडी बढ्ने उनले बताए । ६० प्रतिशत बढी स्थानीय तहमा एमालेको चुनाव जित्ने उनले बताए । ६ वटा महानगरपालिकामध्ये कम्तीमा ५, ११ उपमहानगरपालिकामध्ये ९ र अधिकांश नगर÷गाउँपालिका एमालेले जित्ने उनले बताए । एमालेको नेतृत्वमा सरकार नबनेसम्म मुलुकमा विकास हुन नसक्ने कुरा जनताले राम्रोसँग बुझेको उनले बताए । सर्वाधिक लोकप्रिय नेता एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइने उनले बताए । एमालेकै नेतृत्वमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुन सक्ने उनले बताए ।
एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले एकताबद्ध भएर एमालेलाई जिताउनुपर्ने बताए । उनले सिद्धार्थनगरमा प्रमुख, उपप्रमुख तथा सम्पूर्ण वडाअध्यक्ष र सदस्य एमालेले जित्ने दावी गरे ।
एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराईले एमालेको जीत सुनिश्चित रहेको दावी गरे । उनले सिद्धार्थनगरमा मनोनयन दर्ता गर्न जाँदा विशाल ¥यालीले एमालेको जीत सुनिश्चित भएको कुरा पुष्टि गरेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी जिल्ला इञ्चार्ज भुमिश्वर ढकालले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर सिर्जना भएको बताए । उनले विगतमा एमाले नेतृत्वमा भएका कामलाई अगाडी बढाउन पुनः एमालेलाई जिताउनुपर्ने बताए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले भैरहवामा एमालेले हार्न नजानेको बताए । उनले चुनाव जितेर देखाउने दावी गरे ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले सिद्धार्थनगरमा एमालेको विरासत जोगाउने गरी अगाडी बढ्न आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्यालले विगतका दिनमा एमाले नेतृत्वमा सिद्धार्थनगरमा भएका कामहरु नै एमालेले जित्ने मुख्य आधार भएको बताए । उनले सिद्धार्थनगरमा बाँकी रहेका काम पुरा गर्न बताए । उपप्रमुखका उम्मेदवार उमा अधिकारीले एमालेको जीत सुनिश्चित भएको दावी गरिन् ।
एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगरका इञ्चार्ज चोपलाल आचार्यले एमालेलाई जिताउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज चोपलाल आचार्यको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij