२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

ब्याजदर परिवर्तनमा बैंकहरुको मनपरी : व्यवसायी

शुक्रवार , बैशाख ९, २०७९

भैरहवा, ९ वैशाख ।
उद्योगी व्यवसायीहरुले मनपरी बैंक ब्याजदर बढाइएको गुनासो गरेका छन् । उनीहरुले बैंकले ब्याजदर बढाउँदा कम्तीमा ३ महिना अगावै जानकारी दिनुपर्ने माग गरेका छन् । तरलता अभाव देखाउँदै निक्षेपको ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले कर्जाको समेत ब्याजदर बढाएको उनीहरुको भनाइ छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको ‘वर्तमान वित्तीय अवस्थाले व्यवसायमा परेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले ऋणको ब्याजदर समयसापेक्ष हुन नसकेको बताए । उनीहरुले ८ प्रतिशतबाट १४ प्रतिशतसम्म ब्याजदर बढाइएको बताए ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले ब्याजदर एकल अंकमा हुनुपर्ने बताए । उनले आयातमा अनिवार्य प्रतीतपत्र (एलसी) खोल्नुपर्ने र एक सय प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था झण्झटिलो भएको बताए । अध्यक्ष ज्ञवालीले व्यवसाय दर्ता गर्ने, राज्यलाई कर बुझाउनुपर्ने तर सामान आयात गर्न नपाउने प्रावधाले व्यवसायी पलायन हुने अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘यसरी राजस्व संकलन कम हुन सक्छ र परिस्थिति भयावह हुन सक्छ, त्यसैले समयमै सचेत हुनुपर्छ । ’

संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले कोभिड–१९ का कारण लामो समयसम्म भएको बन्दाबन्दीका कारण उद्योगको मेशिन र तयारी वस्तु बिग्रिएको बताए । उनले उद्योग व्यवसाय सञ्चालन नभए पनि बैंकको किस्ता, ब्याज, कर्मचारीको तलब लगायतका खर्चले ठूलो नोक्सान व्यहोर्नुपरेको बताए । पर्यटन र यातायात क्षेत्र बढी मारमा परेको उनको भनाइ थियो । नियमित रुपमा नाफा अझै पनि हुन नसकेको उनले बताए ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले कोभिड–१९ का कारण अर्थतन्त्रमा समस्या आएको बताए । उनले आम्दानी स्रोत घट्दै गएको बताए । सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) का लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमयले सीमा नाका २४ सैं घण्टा खोल्नुपर्ने माग गरे । उनले तीन किसिमको कर तिर्नुपरेको बताए ।

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले अहिले देशको अवस्थाका कारण आयात घटेको भए पनि भन्सारमा समस्या नरेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य गोपाल भण्डारीले बैंकले ब्याजदर बढाउँदै गएको र व्यवसायी समस्यामा परेकाले यसतर्फ राज्य जवाफदेही हुनुपर्ने बताए ।
नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले बिना दर्ता व्यवसाय सञ्चालन गर्न पाउनु जायज नभएको बताए । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष भागिरथ पाण्डेले मदिरा व्यवसायीलाई महिला उद्यमी कर्जा नदिइएको गुनासो गरे ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले सुनचाँदी व्यवसाय धरासायी बन्दै गएको र व्यवसायिक प्रतिष्ठानको चाबी राष्ट्र बैंकलाई बुझाउने अवस्था आउन सक्ने बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले कर्जा नविकरण गर्न कतिपय बैंकले आनाकानी गरिरहेको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार फैज अहमद खानले बैंकबाट मनपरी ब्याजदर बढाउने काम भएको बताए ।

समाजसेवी मनोज कुमार रिजाल राज्यले मौद्रिक नीति बनाउँदा किसानलाई पनि समेटनुपर्ने बताए ।
व्यवसायी उपेन्द्र गौतमले आत्मनिर्भर बन्न के के गर्नुपर्छ भन्दै प्रश्न गरे । पुस्तक तथा स्टेशनरी व्यवसायी विष्णु मरासिनीले तरलता घटाउन आवश्यक पर्ने कुराबारे स्पष्ट पार्नुपर्ने बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले उद्योग व्यवसायीका सुझाव माथिल्लो निकायमा पठाउने बताए । उनले आयात रोकिएको वस्तु जान्दाजान्दै ल्याउन नहुने बताए । आयात बढ्दो भए पनि निर्यात निराशाजनक रहेको उनको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले ९० प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य बमोजिम हुन नसके पनि आर्थिक वर्षको अन्तिममा लक्ष्य नजिक पुग्ने बताए । उनले कुनै पनि क्षेत्रको कारोबार बढे जोखिम बढ्छ भन्ने कुरामा सत्यता नभएको बताए ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रञ्जना पौडेलले कोभिड–१९ का कारण नेपालका मात्र नभइ संसारभर उद्योग व्यवसायी धरासायी भएको बताइन् । उनले पछिल्लो समयमा देशमा तरलताको समस्या आएको बताइन् । उनले भनिन्, ‘बैंक पनि निजी क्षेत्र हो, उनीहरुले पनि व्यवसाय गरेर कमाउनुपर्छ, एकपक्षीय रुपमा आरोप मात्र लगाउनुहुँदैन, बैंकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु आवश्यक छ ।’ सबै मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताइन् । मौद्रिक नीतिका साथै वित्तीय नीति पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।