
शुक्रवार , बैशाख ९, २०७९
रुपन्देही, ९ वैशाख ।
बुटवलस्थित आरएसडिसी लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार कोष परियोजना सञ्चालन गर्ने भएको छ । विदेशबाट फर्किएका युवाहरुले हासिल गरेका विभिन्न खालका सीपहरुलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने, मुलुकलाई आत्मनिर्भर बनाउने तथा मुलुकको आर्थिक समृृद्धिका लागि योगदान पुर्याउन यस्तो युवा स्वरोजगार कोष परियोजनामार्फत लगानी गर्ने भएको हो ।
कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरुमार्फत थोक कर्जा प्रवाह गरी रोजगारी सृजना गर्न सघाउ पुर्याउने धारणा राखे । सो अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवा तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्नवर्गीय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन यो सम्झौताले सहयोग पुर्याउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij