
बिहिवार , कार्तिक २०, २०७७
रुपन्देही, २० कार्तिक ।
किसान रमेश कुमार मल्लाहाको माछापोखरीमा माछा मर्न थालेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ मा पाल्दै आएको माछा एक्कासी मर्ने थालेपछि माछापालक किसान चिन्तित बन्न थालेका हुन् । मल्लाहाले विगत ४ वर्ष देखि विभिन्न प्रजातिका माछा पाल्दै आएका छन् । तर एक्कासी पोखरी नै रित्तो हुने गरी माछा मर्न थालेपछि उनी चिन्तित बनेका छन् ।
माछापालक मल्लाहा भन्छन्, ‘केही दिनमा माछा बेचौंला र लिएको ऋण तिरौँला भनेको । माछा पानीमा तैरियो म चाँहि ऋणमा चुर्लुम्म डुबे । अहिले के गरौं र कसो गरौं भएको छु ।’
एक्कासी माछा परेपछि यो वर्षको पहिलो चरणमै झण्डै १४ लाख बराबरको क्षति भएको किसान मल्लाहाको भनाइ छ ।
मायादेवी गाउँपालिकाको स्वामीत्वमा रहेको जग्गा लिजमा लिइ विगत ४ वर्षदेखि सुरु गरेका उनले वर्षेनी घाटा व्यहोर्नु परेको उनले बताए। माछा उत्पादन गरेर विक्रीका लागी तयारी अवस्थामा रहेका रौँ, नैनी, सिल्बर, विगेट, ग्रास, कामन लगायतका प्रजातिका अनुमानित ५० क्वीन्टल माछा मरिसकेको र मर्ने क्रम नरोकिएको मल्लाहाले बताए ।
माछा बचाउन एग्रोभेटदेखि पशुसेवा ज्ञान केन्द्र पुगे पनि मल्लाहाले माछा बचाउन सकेका छैनन् । के कारणले माछा मरेको छ भन्ने यकिन हुन नसकेको उनले बताए । माछा मरेको पिर एकातिर, दुर्गन्ध फैलिएर व्यवस्थापन गर्न कठिन उस्तै । मरेको माछा टिप्दै खाल्डो खनेर पुर्दैछु उनी भने । ‘आधा किलो भइसकेको माछा तुलोमा हाल्ने बेला खाल्डोमा हाल्नु प¥या छ । पिरैपिरको भारीले थिचिएको छ,’ उनले दुःखेसो पोखे ।
माछा विशेषज्ञ नभएकाले पनि माछा मर्नुको कारण पत्ता लागेको छैन । तर अन्य जीव जनावर हेर्ने प्राविधिकहरु अक्सिजनको कमी र माछालाई चाहिने ठाउँ नपुगेकाले मरेको अनुमान लगाउँछन् ।
मायादेवी गाउँपालिकाको १० विगाहा क्षेत्रफलमा माछापालन गर्दै आएका मल्लाहाले वर्षेनी क्षति व्यर्होदै आएका छन् । गत वर्ष १४ लाखको बराबरको क्षति व्यहोरेका मल्लाहाले यस वर्ष ५० हजार माछा उत्पादन गरेका छन् । सम्बन्धित निकायले भने यस विषयमा विशेष चासो नदिदाँ किसान बढी मर्कामा परेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij