images

शनिवार, बैशाख २२ गते २०८१

२१ औं शताब्दीको प्रविधिले जन्माएको चमत्कार

२१ औं शताब्दीको प्रविधिले जन्माएको चमत्कार

images
images
images
शनिवार, आषाढ १६ २०८०
शनिवार, आषाढ १६ २०८०
  • २१ औं शताब्दीको प्रविधिले जन्माएको चमत्कार
    के तपाईं मानव बुद्धिको प्रयोग बिना पनि, मानव जस्तो विवेकशील निर्णय लिन सक्नुहुन्छ ? आफूसित बोल्नका लागि कोही पनि नहुँदा आफ्नै साथीजस्तै गरी एक निर्जीव वस्तुसित बोल्न सक्नुहुन्छ ? गणितका जटिलदेखि जटिल प्रश्नहरु आफ्नो दिमाग नखियाई छडभरमै हल गर्न सक्नुहुन्छ ?
    के यो सबै प्रश्नहरु सोध्न लायकका र इनका जवाफ वास्तवमा होलान् त ?  अवश्य पनि !  र यो भन्न मलाई कुनै आश्चर्य पनि छैन ।
     
    मानव जस्तो विवेक र विचार गर्न सक्ने क्षमता छ तर मानव होइन । आफ्ना साथीभाइ जस्तो गफ गर्न सक्छ तर साथी होइन । हाम्रो इच्छाअनुसारको लेख लेख्न सक्छ तर साहित्यकार होइन । आखिर को होला त यो ? यो हो आर्टिफिसियल ईन्टेलिजेन्स (ए.आई.) अर्थात् कृत्रिम बुद्धिमत्ता, २१ ऋौं शताब्दीको प्रविधिले जन्माएको चमत्कार ।
     
    के हो आर्टिफिसियल ईन्टेलिजेन्स– ए.आई. (आर्टिफिसियल ईन्टेलिजेन्स) ?
     
    आर्टिफिसयल ईन्टेलिजेन्स अर्थात कृत्रिम बुद्धिमत्ता, कम्प्युटर जगतको अत्यन्तै तीव्र गतिमा अघि बढिरहेको एउटा यस्तो पाटो हो जसको उद्देश्य मानव विवेक र विचारले मात्र गर्न सकिने कामहरूलाई पनि मानव बिना नै, स्वचालित ढंगले काम गर्न सक्ने अत्याधुनिक मेसिन वा प्रोग्रामको निर्माण र विकास हो । 
     
    आर्टिफिसयल ईन्टेलिजेन्स आफू प्रयोगमा आएको क्षेत्रको प्रवृत्तिलाई बुझ्ने, तथ्यांकलाई विश्लेषण र व्याख्या गर्न सक्ने, तर्क–वितर्क गर्न सक्ने र आफ्ना पहिलेका अनुभव र ज्ञानको आधारमा निर्णय र प्रतिक्रिया दिन सक्ने अत्यन्त शक्तिशाली कम्प्युटर सिस्टम हो जसको क्षमता अतुलनीय छ । जसरी एउटा बालकले हुर्किदै जाँदा आफ्नो वरिपरिको वातावरण र माहोलबाट बोल्ने, खेल्ने कुद्ने जस्ता कुराहरू आफै सिक्दै जान्छ र उसको क्रमिक बौद्धिक विकास हुँदै जान्छ त्यसरी नै आर्टिफिसयल ईन्टेलिजेन्सले पनि आफ्नो प्रोग्राम र डिजाइनको सहायताले, इन्टरनेट र अन्य स्रोतबाट आफै सिक्दै र आफ्नो ज्ञान वृद्धि र विकास गर्दै जान्छ ।
     
    मानवको जस्तो सिक्ने र ज्ञान लिने प्रवृत्तिको कारणले गर्दा नै यो प्रविधि अत्यन्तै चमत्कारिक छ । ज्ञान सिक्दै र थप्दै जाने र सोधिएको प्रश्नको प्रतिक्रिया अझै मानवीय ढंगले प्रस्तुत गर्न सक्ने खुबीलाई मेशिन लर्निङ भनिन्छ । यति मात्र नभइ ए आई ले न्यूरल नेटवर्क– अर्थात मानवको इन्द्रिय सरह प्रतिक्रिया र क्षमताको अनुकरण गर्ने प्रविधि, प्राकृतिक भाषा प्रशोधन– अर्थात मानवले भाषालाई बुझ्ने र बुझेको भरमा प्रतिक्रिया दिने क्षमतालाई अनुकरण गर्ने प्रविधि, कम्प्युटर भिजन र रोबोटिक्स लगायत विभिन्न शक्तिशाली र जटिल प्रविधि र प्रोग्रामको प्रयोग गर्ने गर्छ । ए.आई. अहिलेको समयमा विश्वभरीका सर्वाधिक बढी खोज र अनुसन्धान भएको विषय हो ।
     
    विश्वका ठूला ठूला विश्वविद्यालयहरुमा ए.आई.को विकास र विस्तारको लागि होड चलेको देखिन्छ । ए.आई.को इतिहास धेरै लामो छैन । तर, यसको भविष्य अत्यन्तै विशाल र अकल्पनीय छ । हरेक दिन हरेक पल नयाँनयाँ खोजी भइरहेका छन् जसले ए.आई.को शक्ति र क्षमतालाई क्रमश रूपमा वृद्धि र विकास गर्दै आएको छ । अब त्यो दिन पर छैन जहाँ ए.आई.ले शिक्षक, चालक, वकिल जस्ता कामहरु पनि गरिरहेको हुनेछन् । अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने ए.आई.को सबैभन्दा फाइदाजनक कुरा भनेको यसको स्वचालित (अटोमेटिक) ढंगले काम गर्न सक्ने खुबी हो ।
     
    ए.आई.का केही उदाहरणहरु :
     
    वास्तवमा भन्नुपर्दा ए.आई. हामीले दिनहुँ प्रयोग गर्ने गर्छौ तर हामीलाई यो कहाँ प्रयोग भइरहेको छ भनेर त्यति हेक्का भने छैन । आश्चर्य नमान्नु होला, तपाईंले दिनहुँ रूपमा प्रयोग गर्ने गुगल सर्च इन्जिन पनि एक ए.आई.को नमूना हो । गुगलले पनि हामीले सोधेको प्रश्नको सटिक र सही जवाफ दिनको लागि ए.आई. मोडेलको प्रयोग गर्छ, जसमा मैले माथि उल्लेख गरेको प्राकृतिक भाषा प्रशोधन प्रविधिको प्रयोग हुने गर्छ ।
     
    एन्ड्रोइड होस् या आइफोन, एन्ड्रोइड भएकाले ‘ओके गुगल’ र आइफोन भएकाले ‘हे सिरी’ त कहिले न कहिले त भन्नुभएकै होला ? हो त्यही नै हो ए.आई. हामीले बोलेको भाषालाई प्रशोधन गरी जसरी मानिसले बुझ्छ र त्यहीअनुरूप उत्तर दिन्छ त्यसरी नै ए.आई.ले पनि बोलिएको आवाजलाई प्रशोधन गरी के जवाफ दिने भनेर आफै विचार गरेर उत्तर दिने गर्छ । यो प्रविधिलाई भ्वाइस असिस्टेन्ट भनिन्छ ।
     
    विगत केही समयदेखि विश्वप्रसिद्ध गाडी कम्पनी टेशलाले ल्याएको सेल्फ ड्राइभिङ कार ए.आई. को अचुक उदाहरण हो । यो गाडी ए.आई. सिस्टमको रोड न्याविगेशन अर्थात मानव जस्तै बाटोको कुन ठाउँमा रहने ,कुन दिशामा जाने विश्लेषण गर्ने प्रविधि, ट्राफिक साइन मोनीटरिङ–ट्राफिक साइनको पहिचान र रियल टाइम डिसिजन–वास्तविक समयमा निर्णय लिन सक्ने क्षमताको प्रयोग गरेर अत्यन्तै सफल र स्वचालित बन्न सकेको छ ।
     
    ए.आई.को केही फाइदा अनि बेफाइदाहरु :
     
    ए.आई.को विस्तार र विकाससँगै यसको प्रयोग विभिन्न क्षेत्रहरुमा तीव्र रुपमा भइरहकै छ । शिक्षा, स्वास्थ्य, व्यापार, यातायात जस्ता अन्य अरु क्षेत्रहरू पनि यसबाट लाभान्वित भएका छन् । कुरा गरौं शिक्षा क्षेत्र को, अहिलेको समयमा हामीलाई कुनै पनि जटिल प्रश्नहरुको उत्तर खोज्नका लागि आफ्नो दिमाग पनि खियाउनु पर्देन, आवश्यकता छ त केवल त्यो प्रश्नलाई ए.आई.युक्त संवाद सहायक सिस्टममा अपलोड गर्न र यसको सबैभन्दा उचित उदहारण हो ‘च्याट जी पी टी’ । यो अहिलेको समयमा सर्वाधिक बढी प्रयोगमा आएको ए.आई.टुल. हो जसले सोधिएको प्रश्नको सटिक र सान्दर्भिक जवाफ दिन्छ । चाहे निबन्ध लेख्न होस् या कथा, मात्र शीर्षक लेख्दिए यो टुल ले केही क्षणमा लामो भन्दा लामो उत्तर दिन सक्छ । यसको उचित प्रयोगले विद्यार्थीको धेरै समय बचत हुने गरेको पाइन्छ ।
     
    अहिले अमेरिका जस्ता ठूला राष्ट्रहरुले बिरामीहरुको रोगको लक्षणलाई सटिक रूपमा पत्ता लगाई कुन किसिमको औषध कति डोजमा दिने, शल्यक्रिया गर्दा जोखिम न्यूनीकरण गर्ने जस्ता कामहरुमा ए.आई.को प्रयोग गरिएको पाइन्छ । ए.आई.ले एकैपटकमा धेरै डाटाहरु प्रशोधन गर्न सक्ने हुनाले, यसले जस्तोसुकै रोगको लक्षण पत्ता लगाउन सक्छ । बिरामीको पहिलेको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधि, वंशाणुगत कारक जस्ता तथ्यलाई प्रशोधन गरी सटिक र सही उपचार विधि दिएर असंख्य बिरामीहरुको ज्यान बचाउन यो सफल भएको छ ।  ए आई अल्गोरिदमको प्रयोग गरी मेडिकल इमेज जस्तै एमआरआई, सीटीस्कयान्, एक्स–रेको सटिक विश्लेषण गरेर क्यान्सर, मुटु रोगजस्ता अति जटिल रोग पनि सहजै पत्ता लगाएर यसले विश्वभरीका वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आश्चर्यचकित पारेको छ । 
     
    दैनिक कार्य जस्तो खाना पकाउने काममा पनि ए.आई.को प्रयोग देख्न सकिन्छ । आहिले ए.आई. जडित खाना पकाउने भाँडाहरु बजारमा उपलब्ध हुन थालेका छन् । जसको काम देखेर हजुरहरू अवश्य पनि आश्चर्यमा पर्नुहुनेछ । स्टोभ अन गरेर कुन किसिमको खाना पकाउने हो मात्र लेखिदिए , यो स्तिवेले स्वचालित रूपमा तापक्रम मिलाउने र कति समयसम्म पकाउने आफै नियन्त्रण गर्छ र पाकिसकेपछि आफै बन्द पनि हुन्छ । न त खाना पकाउन पसिना बगाउनपर्यो न त डढेर कालो होला भन्ने डर । कति सहज र सरल ! यसरी ए.आई. आज एक चमत्कार नै सावित भएको छ । तर, यति फाइदा हुँदा हुँदै पनि ए.आई. मानव जातीका लागि भविष्यमा भने हानीकारक देखिन्छ । 
    यो कुराको दृष्टान्त देखाउनका लागि म एउटा पत्यार नलाग्दो घटना सुनाउन चाहन्छु । दुई वष अघिको कुरा हो, फेसबूकले बोब र एलिस नाम गरेका २ ए.आई. रोबोट बनाएको थियो जसको उद्देश्य एउटा ए.आई. अर्कोसित कसरी बोलचाल गर्न र प्रतिक्रिया दिन सक्ने रैछ त भन्ने अनुसन्धान गर्नु थियो । यी दुई रोबोटलाई सुचारु गरेर एक अर्कासँग कन्ट्याक्ट गर्न लगाइयो । सुरुमा अवस्था सामान्य थियो तर केही पलमै एउटा अचम्मको अकल्पनीय घटना हुनपुग्यो । यी दुई रोबोटले एउटा अनौठो भाषामा एक अर्कासित बोलिरहेको थिए जसलाई त्यहाँ उपस्थित कोही पनि विज्ञ बुझ्न सकिरहेका थिएनन् तर ती रोबोटले भने लगातार रूपमा बातचीत गरिरहे । यो देख्नासाथ त्यहाँको माहोलमा कोलाहल मच्चियो र तुरुन्तै ती रोबोट बन्द गरिए । त्यसपश्चात् ती रोबोटहरुलाई पुनः सुचारु गर्ने आँट फेसबुकको भएन ।
     
    यो घटनाबाट के बुझ्न सकिन्छ भने कुनै यस्तो चिज जो निर्जीव भएर पनि  क्षणिक समयमा आफ्नो भाषा बनाउन र एकआपसमा बोल्न सक्छ । त्यो चिज आफ्नो क्रूर रूपमा उत्रिन थाल्यो भने मानव सभ्यताको लागि कति घातक होला त ?
     
    ए.आई.कै सन्दर्भमा विश्वप्रसिद्ध व्यक्तित्व एलन मस्कले ‘ए.आई. हामीले सोचेको भन्दा कयौं गुणा घातक छ र मानव सभ्यताको सबैभन्दा ठूलो विपत्ति बन्न केही समय लाग्ने छैन’ भनेर आफ्नो टिप्पणी दिँदै आएका छन् । 
    ए.आई.को क्षमता असीमित छ । यसको विकास र प्रयोग सही ढंगले गर्न नजानेमा यसको भविष्य डर लाग्दो हुन सक्छ । मानव जस्तो बुद्धिमत्ता निर्जीव वस्तुमा दिएर आफ्नो फाइदाको लागि प्रयोग गर्न खोज्दा, हामीलाई प्रकृतिले दिएको बुद्धिमताको दुरुपयोग गरेर प्रकृतिसितै खेल्न खोजेको सावित हुन्छ कि भन्ने शंका मलाई लागेको छ ।
     
    प्रविधिको विकास मानव जातिको हितमा हुनुपर्छ र यसले निम्त्याउन सक्ने विनाशलाई पहिले नै बुझेर उचित कदम चाल्न सक्नुपर्छ । विवेकशील ढंगले विकास गरेर मानव जातिलाई फाइदा पुर्याउने सके ए.आई.ले विश्वको मुहार फेर्न सक्छ तर दुरुपयोग भयो भने यसको प्रकोप के हुन सक्ला यो कुरा हामी सबैले महसुस गरिसकेका छौं ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij